एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ : पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ।

जानकी मन्दिरद्वारा आयोजित कार्यक्रमअनुसार प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ।जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा शाही स्नान, अपराह्न १२ बजे जन्म आरती, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे दीपोत्सवसहित विशेष आरतीको आयोजना हुनेछ।जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ गर्भगृहमा जन्म बधाई गान गाइने कार्यक्रम तय गरिएको छ।मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते मटकोर कार्यक्रम र वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ। सोही दिन मानस मोहिनी सध्या देवीद्वारा विशेष रामकथा वाचन कार्यक्रम पनि सञ्चालन हुने महन्थ दासले बताए।

उनका अनुसार जानकी जन्मोत्सवलाई विशेष धुमधामका साथ मनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ।