एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले प्रदेश सरकारको अगामी बजेट र नीति तथा कार्यक्रमवारे राय, सुझाव संकलन गरेको छ । कार्यक्रममा सुझाव राख्दै सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसको अर्थ मन्त्रीले पहिलो पटक प्रदेश सरकारमा ल्याउन लागेको बजेट जनहित र विकास केन्द्रित हुनुपर्ने बताए ।

‘सरकारको नेतृत्वमा नरहेपनि अर्थ मन्त्रीको रुपमा कांग्रेसले बजेट ल्याउन पाएको अवसरको पूर्ण सदुपयोग गर्नुहोस्’ यादवले भने, ‘यस्तो बजेट ल्याउनुस् ताकि जनताले त्यसको लाभ दशकौसम्म पाइराखोस् ।’ केन्द्रिय सदस्य रिजालले नयाँ पुस्ताको काँधमा देश बनाउने जिम्मेवारी आएको उल्लेख गर्दै प्राप्त गरेको अधिकारलाई जनताको हितमा उपयोग गर्न सुझाव दिए ।

‘तपाईहरुको अगाडी अवसरको खजाना छ, कति गर्न सक्नुहुन्छ गर्नुस् । तपाईको कर्मले जनतामा राजनीतिप्रति सकारात्मक भावना उत्पन्न हुनसक्नुपर्छ ।’ उनले थपे, ‘नोट हेरेर होइन, विकास हेरेर बजेट बनाउनुस् ।’ राष्ट्रियसभा सदस्य एवम् पार्टी अनुशासन विभाग प्रमुख आनन्द ढुङ्गानाले संघीयता सबलीकरण हुने सिद्धान्त अनुरुप बजेट ल्याउन सुझाव दिए । ‘प्रदेश सरकारको कामले संघीयताको भविष्य निर्धारण हुने हो । त्यसैले तपाईहरु राम्रो काम गर्न सक्नुभयो भने संघीयता बलियो हुनेछ ।

यो विषयलाई ध्यानमा राखेर बजेट बनाउनुहोस्’ उनले भने । ढुङ्गानाले मधेश प्रदेश सरकारको अगामी बजेट कृषिलाई मुख्य प्राथमिकतामा राखेर ल्याउनुपर्ने बताए । कृषिका लागि सिँचाई र चुरे क्षेत्रको संरक्षणमा बजेटले जोड दिनुपर्ने उल्लेख गर्दै उनले थपे, ‘मधेशको कृषिमा सुधार भए सिंगो मुलुकलाई समृद्ध बनाउन टेवा पुग्नेछ । त्यसैले प्रदेश सरकारको मुख्य प्राथमिकतामा कृषि पर्नु जरुरी छ ।’

प्रदेश सभापति एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवको अगुवाईमा पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रीय सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रमेश रिजाल, केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गाना, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिनेश यादव, केन्द्रिय सदस्य अनिल रुङ्टा, कल्याण गुरुङ, राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकाय, प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु, प्रदेश सांसदहरु तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका प्रत्यासीहरु सहभागी थिए ।