एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालका शासकले कार्पेट भित्र गन्दगी लुकाएर सबै ठिकठाक रहेको देखाईरहेकाले समृद्विबाट देश बञ्चित भइरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका युवा नेता, स्वतन्त्र प्रजातान्त्रिक युवा संघका अध्यक्ष अरविन्द महतोको आयोजनामा जनकपुरधाममा मंगलवार भएको नेपालको समृद्विमा भारतको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै नेता महतोले देशको समृद्विमा कसैको भुमिका खोज्नु भन्दा समृद्वि के हो ? र कसरी हुन्छ भन्ने विषयमा नेपाल आफै अस्पष्ट रहेको बताएका छन् ।

देशका हरेक भुगोलका जनता देशको शासन प्रणालीबाट खुसी नभए सम्म देश समृद्व हुन नसक्ने र त्यसका लागि परराष्ट्र नीति परिमार्जन गर्नुपर्ने उनको तर्क थियो । भारत तर्फ संकेत गर्दै उनले देशमा असंलग्न होइन संलग्न परराष्ट्र नीति अपनाएर स्पष्टताका साथ सच्चा मित्रसंग हातेमालो गरि विकासशिल बन्न आवश्यक रहेको बताए ।
सिंगापुर कसरी विकसित भयो ? हामि अझै कंगालको तालिकामा छौं कसरी भयो ? प्रश्न गर्दै उनले गोली चलाएर संविधान बनाउने अनि सबै कुरा भित्र लुकाएर बाहिर सबै ठिकठाक छ भन्दा बिश्व समुदाय र छिमेकीले पत्याउँछ ? भन्दै आफु सुध्रेर मात्र कसैको आशा र सहयोगको अपेक्षा गर्दा फलदायी हुने बताए । सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ग, मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह, सभामुख रामचन्द्र मण्डल, मुख्यन्यायधिवक्ता सुरेन्द्र महतो सहितकाले आ आफनो धारणा राखेको थिए भने डा. लोकराज बराल, मधेश नीति आयोगका पुर्व उपाध्यक्ष डा. भोगेन्द्र झा, डा. उद्वव प्याकुरेल र बिरगंज स्थित भारतिय महाबाणिज्य दुतावासका महाबाणिज्य दुत श्रीदेवी सहाय मिना सहितकाले नेपाल भारतको सम्बन्ध, खुल्ला सिमाना सहितक पृष्ठभुमि बारे प्रकाश पारेका थिए ।


