एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ८ :
जनमत पार्टीका कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको हालै भएको गिरफ्तारीप्रति गम्भीर चिन्ता र गहिरो खेद व्यक्त गर्दै जनमत पार्टीका निलम्बित पार्टी उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले विभिन्न रहस्यहरु वाहिर ल्याएको छ ।

ई. साहले जारी गरेको विज्ञप्तीमा कोषाध्यक्ष यादव उपर लगाइएको काठमाण्डौंको इमाडोल र जनकपुरधामको बल्वाटोल स्थित घरहरुको विषयमा समेत स्पष्ट पारिएको छ । ई. साहको विज्ञप्तीमा उल्लेख भए बमोजिम सो घरहरु मधेश आश्रमको नाममा पार्टी सुप्रिमो डा. राउतको आह्वान अनुसार आर्थिक सहयोगको प्रतिक्रिया शून्य रहँदा ई. सुरेन्द्र यादव र बंसन्त कुशवाहाले व्यक्तिगत खर्चमा उक्त घर निर्माण गरिदिएको हो ।

ई. साहले १० बुँदे विभिन्न तर्क र तथ्यहरु सार्वजानिक गर्दै भ्रष्टाचारीहरु कारवाहीको दायरामा आउनुपर्नेमा आफुहरु माथी षडयन्त्र हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हेर्नोस कोषाध्यक्ष यादवको गिरफतारी विरुद्व ईं. साहले जारी गरेको विभिन्न तथ्य जस्ताको त्यस्तै

ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति आपत्ति तथा पार्टी नेतृत्वमा देखिएको वित्तीय अनियमितता, शक्ति दुरुपयोग र षड्यन्त्रको निष्पक्ष छानबिनको माग !


जनमत पार्टीका कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको हालै भएको गिरफ्तारीप्रति म गम्भीर चिन्ता र गहिरो खेद व्यक्त गर्न चाहन्छु। मधेसको राजनीतिक आन्दोलन र जनमत पार्टीको निर्माणमा उहाँको समर्पण, योगदान र इमानदारिता ऐतिहासिक छ। यस सन्दर्भमा केही यथार्थपरक पक्षहरू जनमानससमक्ष स्पष्ट गर्न आवश्यक ठान्दछुः

१. जनकपुरको घर निर्माणः मधेश आश्रम निर्माणका लागि पार्टी अध्यक्ष डा. सी. के. राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोगको प्रतिक्रिया शून्य रहँदा ई. सुरेन्द्र यादव र बंसन्त कुशवाहाले व्यक्तिगत खर्चमा उक्त घर निर्माण गर्नुभयो। म स्वयं पनि जग्गा किन्ने देखि निर्माण सम्म प्रत्यक्ष संलग्न थिएँ।

२. कतारमा संगठन निर्माणः स्वतन्त्र मधेश गठबन्धनको समयमा व्यक्तिगत सवारी साधन र पेशागत अवसर त्याग्दै उहाँले कतारमा सबैभन्दा ठूलो संगठन निर्माण गर्नुभयो। डा. राउतप्रति पूर्ण निष्ठा राख्दै उहाँले आलोचना हुँदा पनि अडिग भएर साथ दिनुभयो।

३. संसदीय टिकट विवादः पार्टी निर्माणमा जीवनको अति महत्वपूर्ण समय समर्पण गरेका सुरेन्द्र यादवलाई सप्तरी संसदिय क्षेत्र नं.१ बाट टिकट नदिइ उल्टो संगठनमा खास योगदान नदिएका आफ्नै दाजुलाई उम्मेदवार बनाइनु वातावरण विग्रिने प्रमुख कारण बन्यो।

४. समानुपातिक सूचिमा आर्थिक मागः करोडौं खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उहाँ सँग रु. ५० लाख मागिनु अत्यन्तै दुःखद र अपारदर्शी व्यवहार हो।

५. घर–जग्गा खरिदमा अनियमितताः “मधेश लोट चले” भन्ने नारा दिँदै सांसद बनेपछि इमाडोलमा भव्य घर र पार्किङ्गको लागि छुट्टै जग्गा खरिद गर्नुमा भ्रष्टाचारको गम्भीर आशंका छ। सत्यतथ्यको निष्पक्ष छानबिन अपरिहार्य छ।

६. महादेवामा पार्टीको नाममा बनाइएको घरः पार्टीको नाममा संकलन गरिएको रकमबाट सप्तरी, महादेवामा निर्माण गरिएको पक्की घरको स्रोत र उपयोगबारे छानबिन आवश्यक छ।

७. साईकल काण्ड र गाडी खरिदः मधेश प्रदेशका चर्चित साईकल काण्डमा संलग्न पात्रको नाममा गाडी खरिद हुनु जनता र आन्दोलनप्रति विश्वासघात हो।

८. कोषाध्यक्षको खातामार्फत नचलिएको आर्थिक कारोबारः पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अवैध रुपमा आर्थिक कारोबार हुनु गम्भीर प्रश्नको विषय हो।

९. उपत्यकामा कार्यालयको अभावः काठमाडौंमा पार्टी कार्यालयको लागी घर नपाउँदा डा. राउतको हठका कारण पुरानो होटल भाडामा लिइ कोटेश्वर स्थित प्रवासी होटल प्रा. कम्पनि अन्तर्गत खोलिएको थियो, जहाँ नेता, कार्यकर्ता, पीए र चालकहरू बसोबास गर्ने गर्दथे। चुनावको समयमा उपत्यकालागी अधिकांश गतिबिधि त्यो ठाउँ बाट भएको थियो।

१०. आर्थिक सहयोगको दुरुपयोगः राम नारायण साह, सत्य नारायण खाँग, पञ्चनन्द माझी, अनिता साह, श्रिषिकेष ठाकुर, प्रमोद ईसर लगायतका व्यक्तिहरूको नाममा आर्थिक सहयोग संकलन गरी निजी प्रयोजनमा खर्च गरिएको छ, जुन पूर्ण रूपमा गैरकानुनी हो।

उपरोक्त समस्त घटनाक्रमले प्रष्ट संकेत गर्दछ कि ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारी योजनाबद्ध षड्यन्त्रको हिस्सा हो। यस घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनु अत्यावश्यक छ। साथै, पार्टी नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति अनिवार्य छ भन्नेमा म जोड दिन चाहन्छु।

न्यवाद।
सम्पर्कः
ई. दीपक कुमार साह
पूर्व राष्ट्रिय उपाध्यक्ष / प्रमुख, अनुशासन विभाग, जनमत पार्टी

एता ई. साहले विज्ञप्ती जारी गरेको केहि बेरमै पार्टी अध्यक्ष डा. राउतको फेसबुकबाट पोष्ट जारी हुदै पार्टीको निर्देशन र अनुशासनलाई गम्भीरता पुर्वक लिन निर्देशन दिइएको छ ।