एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ४ :
सहकारी, लघुवित्त र बैंकिङ ठगीबाट पीडित नागरिकहरूको पक्षमा आवाज उठाउँदै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको रवैयाप्रति कडा असन्तोष व्यक्त गर्नुभएको छ।
वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियानको आह्वानमा शान्ति बाटिकामा आयोजित विरोध सभामा महतोले “अब पापको घडा भरिसकेको” भन्दै सरकार पीडितहरूका घाउमा मलम होइन, नून छर्किरहेको आरोप लगाउनुभयो।
उहाँले विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै सरकार आफैं शोषकको रूपमा प्रस्तुत भइरहेको बताउनुभयो। अबको संघर्ष ‘अलपत्र विश्वास’मा होइन, एकीकृत र संगठित रूपमा अघि बढ्ने उहाँको भनाइ थियो। महतोले आर्थिक न्याय र वित्तीय शोषणको अन्त्यका लागि सबै सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान गर्नुभयो।


