एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ :
माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ। धनुषा समिति तथा राराब क्याम्पस र राजर्षि जनक विश्वविद्यालय समितिको संयुक्त आयोजनामा विद्यार्थीहरूले मशाल जुलुससहित प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

विद्यार्थी नेताहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा राष्ट्रिय सभामा दर्ता गरिएको विधेयक नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्ने भन्दै फिर्ता गर्न माग गरेका छन्। अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य श्याम साहले उक्त विधेयकले सूचना तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको बताए।

प्रदर्शनकारीहरूले विधेयकका विभिन्न प्रावधानमाथि असन्तुष्टि जनाउँदै विरोध गरेका छन्। उनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूको अनिवार्य दर्ता, सरकारले तोकेका सामग्री हटाउने प्रावधान, डिपफेक भिडियो अपलोड वा प्रसारलाई अपराध ठहर गर्ने व्यवस्था, तथा सामान्य कसुरमा पनि फौजदारी कारबाहीको प्रावधान अस्वीकार्य रहेको बताएका छन्। विद्यार्थीहरूले सरकारलाई विधेयक तत्काल फिर्ता लिन चेतावनी दिएका छन्।