एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : मातृका यादव, सुन्ने वितिकै माओवादीका नेता भन्ने परिचय छ । यद्यपि उनको परिचय मधेशवादी र अर्को शब्द भन्नु पर्दा मधेश अभियन्ता पनि । छोराको नागरिकता बनाउँदा बिना ढाका टोपीकै फोटो टाँस्छु भन्ने अडान देखि मन्त्री हुँदा मधेश मिथिलाको पोशाक र भाषामा सपथ ग्रहण सहितका उनको गतिविधीका कारण उनी मधेश मैत्री नै मानिन्छ ।
तर उनको मधेश प्रेम भने उनी र उनको पार्टी संकटमा परेको बेलामा मात्र देखिने गरेको उका साथीभाईहरुकै आरोप छ । एमाले र कांग्रेसको काँध थापेर माओवादी अध्यक्ष प्रचण्ड पटक पटक प्रधानमन्त्री बन्दा उनी मन्त्री बनेपनि नबनेपनि शक्तिशाली नेताका रुपमा रहन्छ र उस्का लागि मधेशवाद र मधेश तथा मधेशीको खासै कुनै अर्थ हुदैन । तर जव पार्टी संगै उनी संकटमा पर्छन अनि पटक पटक मधेशमा आन्दोलन र अभियान चलाउने गरेको दृष्टान्त छ ।
अहिले फेरि मातृका मधेश केन्द्रित केहि दलहरुसंग मिलेर आन्दोलन र अभियानको शंखनाद गर्ने बताइरहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी सहितका केहि दलहरु सम्मिलत संयुक्त मधेश संर्घष समिति नामक ब्यानरमा यादवको पुनः प्रवेश देखिएको छ । केहि दिन अगाडि मात्र समितिले महोतरीको जलेश्वरमा सभाको आयोजना गरि आन्दोलनको धम्की दिइसकेको छ जस्मा उनी पनि सहभागि छन् ।
उनका साथै समितिमा तराई–मधेश लोकतान्त्रिक पार्टी, मधेशी राष्ट्रीय मुक्ति मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी र एकीकृत समाजवादी पार्टीका समान विचारका नेताहरू शामिल छन् ।
यस अघि पनि मधेश आन्दोलनमा मातृका
माृतका अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे र तत्कालिन अनिल झा नेतृत्वको सदभावना पार्टीहरु संग मिलेर मधेशमा आन्दोलनको तयारी थालेका थिए । ढाँडको समस्या हुँदा समेत भारतमा उपचार गरि गरि मधेशमा उनी आन्दोलन गरेका थिए ।
एकासमय मधेस आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेसमा आन्दोलन सुरु गरेका उनी मधेसवादी दलहरूले आन्दोलन सुरु गर्दा त्यस अघिदेखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेसवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानुपर्छ भनी उनले निकै प्रयास गरेका थिए । त्यही प्रयास स्वरूप एक पटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग पनि गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।
एक मधेस एक प्रदेशको मुद्दाको वौकालत गर्ने मातृका यादव २०७० को संविधानसभा निर्वाचन बहिष्कार त गरे तर पछुताउन पनि थालेको उनका साथीहरु सुनाउ छन् । पछि २०७२ तिर माओवादी केन्द्रसँग एकीकरण गरेका उनी २०७४ को निर्वाचनमा धनुषा १ बाट प्रत्यक्ष चुनाव जितेर उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री बने र पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इन्चार्ज पनि भए ।

एकाएक व्यक्तित्व फेरेका मातृका
सिरहाको लहानमा उनको आक्रोसका कारण पनि माओवादीको तर्फबाट गोली चलेको र रमेश महतोको हत्या भई मधेश आन्दोलन प्रारम्भ भएको आरोप उनमाथी लागेपनि उनको सहयात्रीहरुका अनुसार उनमा मधेश प्रतिको प्रेम र विकासको चासो पहिला अत्याधिक थियो अरे । बन मन्त्री बनुञ्जेल सम्म मधेश प्रति सकारात्मक रहेका उनी मन्त्री हुँदा खेरिको तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला संगको खटपट पछि मन्त्रीबाट राजिनामा दिए पश्चात एकाएक बदलिएको उनीहरु बताउछन् ।
बन मन्त्री हुँदा एलडिओलाई शौचालयमा ढोकेर कुटपिट गरेको विवादका कारण लोकप्रियता कमाएको, त्यतिबेलै रक्तचन्दन तस्करीलाई पनि चर्चामा ल्याएर उनी आफै रातिराति गएर ट्रकका ट्रक रक्तचन्दन समातेर सिंहदबारमा थन्क्याउदै हिरो बनेको मातृकाकै कारण रक्तचन्दनको पनि तस्करी हुन्छ भने कुरा त्यतिबेला मात्र जनताले थाह पाएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन गरेको विषय पनि त्यतिबेला निकै चर्चामा आएको थियो । पछि उनी भूमि सुधार तथा व्यवस्था मन्त्री बन्दा सिरहामा जग्गा कब्जाको विषयलाई लिएर विवादमा तानिएका थिए ।
त्यसपछिको मातृका
प्रत्यक्ष चुनाव जितेर प्रतिनिधीसभा छिरेका उनी उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय हात पार्न सफल भए । मन्त्री बनेपछि उनको धनुषाकै साथीहरु उत्साहित बने र कम्तिमा धनुषाको उनको गाँउ सबैला क्षेत्रमा उद्योग कलकारखाना खोलेर रोजगारको श्रृजना गर्न आग्रह गरेपनि उनले सुनेर कुनै सुनुवाई नगरेपछि मातृका बदलिएको उनका सहयात्रीहरु महशुस गरे । राजनिति भ्रष्टको जमात देखेपछि म मात्र किन जोगी ? भन्ने आशयले जब मातृका राजनितिमा घाटा फाईदाको हरहिसाब गर्न थाले, त्यसपछि एकाएक बदलिएको उनका सहयात्रीहरु बताउछन् ।
नाम उल्लेख नगर्ने सर्तमा उनकै एक सहयात्रीले भन्दै थिए मातृका मन्त्री बनेपछि बोलेको थियो, ‘म खाली राजिनामा र बिद्रोह गर्न मात्र राजनिति गर्ने ?’ अव नाफाघाटा निति पनि हेर्ने हो ।’ यि यस्ता कुरा सुनेपछि उनका ईष्टमित्रहरु हच्चिकएको सुनाउछन् । यसै कारण साथीभाईहरु पनि मौन बसिदिएकाका कारण २०७९ को आम निर्वाचनमा महागठबन्धनको उम्मेदवार बनेपनि उनी निर्वाचित हुन सकेन ।
उनको पराजयको अर्को कारण हो आम निर्वाचन अगाडिको स्थानिय तहको निर्वाचन जस्मा उनले सबैला नगरपालिकाको मेयरमा आफना सहोदर भाई जिताउन कुनै कसर वाँकी छोडेनन् । उनले भाईको लागि गरेको राजनितिक कसरत देखेपछि उनका सहयोगीहरु ति पुराना मातृकालाई सम्झिदै नयाँ मातृकाबाट त्रसित हुन थाले र आम निर्वाचनमा कतिपय साथीहरु मौन बसिदिए भने गठबन्धनमा रहेको कांग्रेसीहरु पनि दिपक कार्की तर्फ ढल्किए ।

मधेशी दल फुटे, यि नेताहरु फेरिए, मधेशलाई घाटा
मधेश आन्दोलनको अगुवाई मधेश केन्द्रित दलहरुले गरेको भएपनि अन्य मुख्यदलका केहि मधेशी नेताहरुको सहयोग र समर्थनले पनि मधेश आन्दोलन सार्थक भएको हो । कांग्रेसका प्रदिप गिरी, विमलेन्द्र निधी, माओवादीका मातृका यादव र प्रभु साह जस्ता मुख्य दलका करिव आधा दर्जन नेताहरु मधेश अधिकारको पक्षमा खोलेर बोल्ने गरेको र रणनितीक सहयोग पनि गरेको हो ।
यहाँ सम्मकी संविधान निर्माण हुँदा पार्टी विरुद्व विद्रोह गर्ने सम्मको काम (संविधानमा हस्ताक्षर नगरेको) पनि गिरी र साहले गरेकै हुन । मातृका त्यसवेला प्रतिनिधीसभामा थिएनन् र मधेशको असन्तु्ष्टिको पक्षमा थिए । मधेश आन्दोलनको अगुवा मधेश केन्द्रित दलका नेताहरु दलमा आएको फुट संगै कमजोर र एक्लिदै जानु र यस्ता नेताहरु आफना प्रवृती बिस्तारै फर्दै गएपछि मधेशको मुद्दा कमजोर हुदै गएको छ ।
मातृका यादव माओवादी भित्रको मधेशवादी थिए भन्दा अनर्थ नहोला तर बाध्यता हो कि के हो, उनीहरु जस्ता नेताहरु पनि विस्तारै वर्चश्ववादी राजनितिको दलदलमा भाँसिदै गएपछि मधेश अहिले घरको न घाटको जस्तो देखिन्छ । मधेशमा अहिले नयाँ ब्यानरमा हुन लागेको मातृकाको आगमण के का लागि ? भन्ने कुराको प्रमाण समयले देखाउने छ ।


