एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ :
यस अघिको दुईवटा जसपा नेपाल नेतृत्वको सरकारले असोज ३ लाई कालो दिन भन्दै कुनै औपचारिक कार्यक्रम गरेर संविधान दिवस मनाएको थिएन । पुर्व र निवर्तमान मुख्यमन्त्री लालबाबु राउत तथा सरोज यादव संविधान दिवसको कार्यक्रममा सहभागिता पनि जनाएन र मौन रहेर न विरोध न समर्थन गरेको देखियो ।

तर वर्तमान जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०८१ मनाएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट प्रभातफेरि सहित निष्केको प्रभात फेरि सहितको जुलुस नगर परिक्रमा गर्दै जनकपुरधामको वडा न–४ निधि भवनमा आएर सभामा परिणत भएको थियो ।

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधन मार्फत सच्याउन सकिने बताउदै प्राप्त भएको उपलब्धीहरुको रक्षा आवश्यक रहेको बताए । उनले वर्तमान संघिय सरकारका संरचना र त्यसमा हुने खर्च भन्दा बढि खर्च पहिलाको गाँउ विकास समितिमा हुने गरेको तर्क पनि हिसाव सहित प्रस्तुत गरे ।

मधेसको गृहसंचार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संंिवधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधन मार्फत त्रुटीहरु सच्याउदै अपडेट हुदै जानुपर्ने बताए । अहिले प्रदेश सरकारलाई मजबुत बनाउनु आवश्यक छ, मुख्यमन्त्री सिंहले भने ‘प्रदेशको रेभिन्युका र जनसंख्याको आधारमा बजेट तथा आफनै प्रहरी प्रशासन भए मात्र त्यो सम्भव छ ।’

उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न तर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए । त्यस्तै मधेसका सभामुख रामचन्द्र मण्डलले संविधान गतिशिल दस्तावेज रहेकाले संविधानको बिरोध गर्नुको तुक नरहेको बताए । उनले संविधान दिवसको बिरोधमा कालो दिवस मनाएर जनतामा भ्रम सिर्जना गर्नुको साटो यसका सकारात्मकताको प्रचार गर्न तर्फ लाग्नु पर्ने बताए ।

उनले संविधान त्यतीकै हतारमा नल्याइएका १० वर्ष लगाएर दुईवटा संविधानसभाबाट मात्र ल्याउन सम्भव भएको संविधानले दिएको अधिकार संस्थागत गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । जुन संविधानको आधारमा तलब भत्ता खाईरहेका छौँ त्यही संविधानको बिरोधमा कालो दिवस मनाउनु जनतामा भ्रम सिर्जना गर्नु बाहेक अरु केही नरहेको उनले बताए । यो चरित्र बदल्न सभामुख मण्डलले आग्रह गरे । प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा सहभागि लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाई रहेको छ ।

तमलोपाको विरोध र कालो झन्डा

एता असोज ३ लाई तराई मधेश लोकतान्त्रिक पार्टीले कालो दिवसको रुपमा मनाइरहेको छ । विहिवार विहान मधेश सरकारले प्रभात गरिरहँदा तमलोपाका नेता कार्यक्रताहरु जनकपुरधाममा टाउकोमा कालोपट्टी र कालो झन्डा सहित विरोध जनाएका छन् । उनीहरुले भानुचौकमा गाडेको कालो झन्डा प्रहरीले तुरुन्तै उखेलिदिएका छन् ।

तमलोपा नेतृ जनकपुरधाम मेयरकी प्रत्यासी विभा ठाकुरको नेतृत्वमा रहेको एक समुह विरोधमा प्रदर्शन गरेका थिए । लोसपाले पनि आजै बेलुकी विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ ।