एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीपरिषदबाट राज्यमन्त्रीहरुलाई हटाएको केही दिनपछि आफ्नो निर्णयको बचाव गरेका छन् । नेपाली जनता दलको छैठौँ अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आफ्नो निर्णयको बचाव गरेका छन् ।
उनले मधेस प्रदेशको विकासलाई ध्यानमै राखेर आफूले ८ वटा राज्यमन्त्री नियुक्त गरेको स्पष्ट गरे । उनले भने ‘मैले प्रदेशको विकासलाई नै ध्यानमा राखेर राज्यमन्त्रीहरु नियुक्त गरेको थिएँ, तर त्यसको चौतर्फी बिरोध भयो सबैको भावनालाई कदर गर्दै राज्यमन्त्रीहरुलाई हटाए ।’ ८ वटै जिल्लाका विकास निर्माण लगायतका विभिन्न योजनाहरुलाई प्रभावकारी बनाउने अभिप्रायले ८ वटा राज्यमन्त्री नियुक्त गरिएको थियो उनले भने । मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई हटाएको केही दिनपछि आफूले राज्यमन्त्रीहरु नियुक्त गरेर संविधानको बर्खिलाप नगएको दावी गरे । उनले संविधानले नै कुल प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्रीपरिषदको आकार बनाउन सकिने भनिएको छ त्यो हिसावले यो प्रदेशमा २१ सदस्यीय मन्त्रीपरिषद बनाउन सकिन्थ्यो । तर जनताको भावनालाई कदर गर्दै त्यो निर्णयबाट पछाडी हट्नु पर्यो ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपाली जनताको प्रगति, समृद्धि, स्वतन्त्रता, पूर्ण समानुपातिक समावेशी, सामाजिक न्याय तथा राष्ट्रिय एकता सार्वभौमसत्ताका लागि लडिरह्ने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनताको जनजिविकालाई सुदृढ बनाउन देशको आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रुपान्तरणका लागि तथा समतामूलक समाजको निर्माण गर्ने उद्देश्य लिएर हाम्रो अभियान अगाडी बढिरहेको उनले बताए । मुलुकको पछिल्लो उपलब्धि गणतन्त्र, संघीयता, धर्म–निरपेक्षता पश्चात पनि सामाजिक न्याय तथा समावेशी एवं पूर्ण सामानुपातिक प्रतिनिधित्वका लागि शान्तिपूर्ण तवरबाट लडि रह्ने उनको भनाई थियो ।