एसपी रिपोर्टर
जनकपुरधाम, साउन २ : नेपाली कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको सर्मथन फिर्ताको तयारी थालेको छ । भोली विहिवार विहान ११ बजे बस्ने संसदिय दलको बैठकबाट त्यसको निश्कर्ष लाग्ने बताइएको छ ।
कांग्रेस मधेश प्रदेश संसदिय दलका नेता कृष्ण यादवले एसपी खवरसंग भने, ‘भोली २२ सबै जना सांसदहरु बस्छौं, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा अगाडि बढछौं ।’ सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा राजनितिमा सम्भावना बाहेक अरु केहि पनि नहुने बताउदै उनले बैठकले त्यो निर्णय पनि लिन सक्ने बताए ।
मुख्यमन्त्री भन्दा पनि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अर्थ मन्त्रालय बिना सरकार चलाउन नसकिने भएकाले कांग्रेसलाई अर्थ दिन मानिनरहेको बताइएको छ । कांग्रेस स्रोतले भन्यो ‘यो सरकार सतिश सिंह होइन डा. राउत चलाउन चाहिरहेको छ, त्यसैले पनि समस्या छ ।’
कांग्रेस आफनै नेतृत्वका लागि प्रयास गर्ने
भोली बस्ने संसदिय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे कांग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्ने छ । सुरुमा एमाले, कांग्रेस र लोसपा सहितको सरकार नभए जसपा, माओवादी र नेकपा एसको समर्थनमा पनि कांग्रेस सरकार बनाउन सक्ने कतिपयको दावी छ ।
‘हामि सक्दो एमाले संग केन्द्रमा भएको गठबन्धनकै आधारमा जान खोज्छौं र एमाले तथा लोसपालाई मिलाएर जान सकिन्छ, तर एमाले शंकाष्पद देखिए अन्य विकल्पमा पनि जान सक्छौं’ एक नेताले भने । यस्तो समिकरणको परिस्थिती बनेको खण्डमा मधेश प्रदेशबाटै एमाले र कांग्रेस गठबन्धनमा दरार उत्पन्न हुने परिस्थितीको सृजना हुनेछ ।





