एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ : मधेश प्रदेशमा बन्न लागेको नयाँ सरकारमा मन्त्री भागबण्डामा सकस देखिएको छ । १३ सिट रहेको जनमत पार्टीको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा २५ सिटको एमाले, ९ सिटको माओवादी र ७ सिटको नेकपा एस र एक÷एक सिट रहेको नागरिक उन्मुक्ति तथा संघिय समाजवादी पार्टी समेत रहने छ ।
प्रदेश प्रमुखले शुक्रवार विहान १० बजे सम्ममा नयाँ सरकार निर्माणका लागि बहुमत सहितको दावी पेश गर्न समय सिमा निर्धारण गरेकोमा विहिवार विहानै देखि बसेको ति दलहरुको बैठकमा मन्त्रालय भागबण्डा चुनौतीपूर्ण देखिएको छ । स्रोतका अनुसार नेकपा एसले तिनवटा मन्त्रालय मागेपछि सकस उत्पन्न भएको हो ।

मन्त्रालयमा भागबण्डा नमिलेको खण्डमा तत्काल मुख्यमन्त्री (जनमत), भौतीक पुर्वाधार मन्त्री (एमाले), अर्थमन्त्री (माओवादी) र नेकपा एसलाई स्वास्थ्य मन्त्री दिएर पहिलो चरणको सपथ ग्रहण हुनेछ । यद्यपि निति तथा कार्यक्रम र बजेटको समय नजिक रहेकाले विहिवार हरसम्भव प्रयासका लागि छलफल भइरहेको बताइएको छ । विहिवार अवेर राती सम्म पनि दलहरु छलफलमै व्यस्त रहेको बताइएको छ ।





