एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : जनकपुरधाममा विगत ९ दिन देखि जारी शहिद कप अन्तर प्रदेश टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि आयोजक जनकपुर–११ ले जितेको छ । सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै जनकपुर ११ ले उपाधि जितेको हो । यस संगै प्रतियोगिता आज सम्पन्न भएको छ । पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले १४ ओभरको खेलमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो । जनकपुर–११ ले १५ ओरमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै उपाधि जित्न सफल भएको हो ।
जनकपुर ११ का बसीर अहमद ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए बापत म्यान अफ दि म्याच घोषित भए । उनलाई मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले नगदसहित उपहार प्रदान गर्नुभएको थियो । विजेता जनकपुर–११ ले नगद २ लाख ११ हजार, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता सुदूरपश्चिम प्रदेशले १ लाख १ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

जनकपुर–११ का साहब आलमले म्यान अफ दि सिरिजको उपाधिसहित १५ हजार नगद प्राप्त गरे । वेष्ट व्याट्सम्यानका उपाधि जनकपुर–११ का कप्तान हिमांशु दत्तले पाए । वेष्ट बलर जनकपुर–११ का साहब आलम, वेष्ट फिल्डर जनकपुर–११ का अखिलेश ठाकुर, वेष्ट विकेट किपर जनकपुर–११ का कप्तान हिमांशु दत्त घोषित भए ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा नेपाल र मधेश क्रिकेट संघको सहजीकरण तथा सहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा वैशाख २० गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेशका अतिरिक्त आयोजक टिमका तर्फबाट जनकपुर–११ सहित कुल सहभागी भएका थिए ।





