एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ :
विभिन्न राजनितिक दलका नेताहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेट गरी आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेको छ । सो टोलीमा तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैद्यनाथ साह सहितको प्रतिनिधिहरु सहभागि थिए ।

पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता बिचल्लीमा रहेको उनीहरुको भनाई थियो । उनीहरुले एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिएको भन्दै खेद व्यक्त समेत गरेका छन् । प्रशासन, स्थानीय सरकार , प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटकै लागि यस्तो गर्नु दुःखद रहेको उनीहरुको भनाई थियो । राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने उनीहरुको भनाई थियो ।

गत बैशाख १२ गते सो टोलमा अगिलागी भई करीब १५० घर परिवार पूर्णतः नष्ट भएको थियो । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबास लगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशिघ्र कदम उठाउन मांग गरेको छ । प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह दिनानुदिन घटनु र पेयजलको आभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

यस क्षेत्रमा तत्काल अग्रसरता र पेयजलको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिंगमा आइरहेको खठिनाई, चुरे भाँवरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिन र दिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरे । मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई तत्काल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसंग अनुरोध गरेको छ ।