एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ :
भोली बैशाख २० गते बाट जनकपुरधाममा चौथो शहिद कप अन्तर प्रदेशिय टि २० क्रिकेट प्रतियोगिता प्रारम्भ हुदैछ । जनकपुरधामको रजौल स्थित निर्माणाधिन श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा हुन गइरहेको प्रतियोगिताको पहिलो समुदघाटन म्याचमा मधेश र कोशी प्रदेश बिच प्रतिस्पर्धा हुनेछ ।

मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विभिन्न आन्दोलनमा सहादत दिएका शहीदहरुको स्मरणमा वैशाख २९ गते सम्म चल्ने शहीदकप अन्तर प्रदेशिय क्रिकेट प्रतियोगिताको १० दिनमा विभिन्न ८ टिम सहभागिता जनाउने छ । देशको सात प्रदेशको सात टिमको साथै आयोजक जनकपुरधामको एक टिम सहित कुल आठवटा टिमहरु बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधी जित्ने टिमलाई ट्रफी, प्रमाण पत्रका साथै २ लाख ११ हजार नगद, दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र सहित १ लाख १ हजार नगदबाट पुरस्कृत गरिने छ । यस अघि शहिदकप क्रिकेट प्रतियोगिताको आयोजना शहिदकप क्रिकेट कमिटीले गर्दै आईरहेको थियो । ३ वटा संस्करणको आयोजना गरिसकेको यो प्रतियोगिताको यस वर्ष कमिटिले संयोजन मात्र गरिरहेको संयोजक रुपेश सिंह मुन्नाले बताए ।

प्राविधिक हिसावले सम्भव भए मौसम तथा प्रचण्ड गर्मीलाई दृष्टिगत गर्दै दुईवटा सेमिफाइनल र एक फाईनल प्रतिस्पर्धा डे÷नाइटका आधारमा खेलाइने योजना समेत रहेको उनीहरुको भनाई थियो ।

प्रतियोगिताको सम्पुर्ण तयारी लगभग पुरा भएको आयोजकले खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । सो अवसरमा आयोजक टिमका सदस्यहरु कांग्रेसका युवा नेता समेत रहेका कृष्णा सिंह, राजिव मान सिंह, भावेश मिश्र, आकाश पाण्डे, लोसपाका युवा नेता ज्ञानेन्द्र झा ज्ञानु, अमित ठाकुर, रोशन सिंह राणा सहितको उपस्थिती थियो ।