एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० :
प्रथम लालबन्दी महोत्सव आजदेखि शूरु भएको छ । “कृषि, पर्यटन र व्यापार स्वरोजगार : आत्मनिर्भरताको आधार“ भन्ने मूल नाराका उद्योग वाणिज्य संघ लालबन्दीद्वारा सो महोत्सव आयोजना गरिएको हो ।
लालबन्दी नगरपालिका–६ स्थित राधाकृष्ण फुटबल मैदानमा आयोजित सो महोत्सवको मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेकी छिन् ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीको अध्यक्षतामा उद्घाटन गरिएको समारोहमा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पना पाख्रिन, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, विभिन्न राजनैतिक दलका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा स्वागत नृत्य, कौडा नृत्य, लाखे, थारु नृत्य, तामाङ सेलो, मगर नृत्य, नेवारी लगायत विभिन्न भाषाभाषीका नृत्य सहित कला संस्कृतिहरु प्रस्तुत गरिएको जनाइएको छ । त्यस्तै डोरीतान प्रतियागिता, क्युकोशिन कराँते, आईटीएफ कराँते लगायत विभिन्न खेलका कलाकौशल समेत प्रदर्शन हुने कार्यक्रम संचालक मनोज बख्रेलले जानकारी दिए ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गरिएको बताएका छन् । फागुन १९ गतेसम्म आयोजना हुने महोत्सवको ५० हजार दर्शक अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सो महोत्सवका लालबन्दी नगरपालिकाले पाँच लाख रुपियाँ उपलब्ध गराएको छ भने अन्य रकम टिकट बिक्रीबाट २० लाख रुपियाँ, स्टल भाडाबाट नौ लाख रुपियाँलगायत अन्य विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने आश गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको मुख्य आकर्षण शुक्रबारदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछ भने महोत्सव अवलोकन गर्न ७० रुपैया शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई २० रुपैया छुट गरी ५० रुपियाँ र अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश रहेको आयोजकले जनाएको छ ।





