एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
पक्राउ परेका सुनचाँदी व्यवसायीको रिहाईको माग गर्दै जनकपुरधामस्थित सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।
बुधवार सुनचाँदी व्यवसायी बलराम ज्वेलर्सका संचालक बलराम साह र अरुण ज्वेलर्सका संचालक अरुण ठाकुरलाई बिल बिनाको सुनका गहना बरामद भएपछि पक्राउ गरी थप अनुसन्धानका लागि धनुषा प्रहरीले राजश्व अनुसन्धान विभाग पथलैया पठाएपछि उनीहरु आन्दोलित भएका छन् ।
मंगलवार सुनचाँदी कारीगर अजय साह र संजय साह बिल बिनाको सुनका गहना सहित पक्राउ परेका थिए । उनीहरुकै बयानको आधारमा व्यवसायीद्वय साह र ठाकुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि पथलैया पठाएको हो ।
तिनीहरुलाई पथलैया पठाए लगतै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । तिनीहरुले बुधवार दिउंसोदेखि टायर बालेर प्रहरी विरुद्ध प्रदर्शन गर्दै सोनारपट्टी बजार बन्द गराएका छन् ।
यसैबीच सुनचाँदी व्यवसायीहरुले पक्राउ परेका साह र ठाकुर सहित कारीगरहरुलाई रिहाई नगरेसम्म सुनचाँदी व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने भएका छन । सुनचाँदी व्यवसायी संघ धनुषा अध्यक्ष पन ठाकुरले भोली संयुक्त बैठक गरी जबसम्म छोडिदैन तबसम्म सुनचाँदी व्यवसाय प्रतिष्ठान बन्द गर्नेछौं । हाम्रो आन्दोलनले बल पुगेन भने सम्पूर्ण वस्तुगत व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्ने । यदि व्यवसायी संघले आग्रह गरेन भने त्यसकै विरुद्ध आन्दोलनमा उत्रिनेछौ ।
ठाकुरले बिलको प्रक्रियागत केही त्रुटि नै थियो भने हामीले हिजो नै प्रहरीलाई दशौं अँगूला जोडेर सुन राखेर अनुसन्धान अघि बढाउन अनुरोध गरेका थियौँ । तर अनुसन्धान नै नगरी थप अनुसन्धानका लागि पथलैया पठाउन गलत हो । व्यवसायीलाई यसरी त्रसित बनाउने कार्य गलत उनले भने ।
यस्तै नेपाल सुनचाँदी रत्न आभूषण महासंघ मधेश प्रदेशका महासचिव मनिष रमण साहले अवैध रकम असुल्न सुनचाँदी व्यवसायीलाई त्रसित बनाउन बदनियतपूर्वक सुनियोजित रुपमा प्रहरीले पक्राउ बताएका छन् । उनले भने सुनचाँदी व्यवसायीसँग अवैध रुपमा चन्दा कसरी संकलन गरिन्छ भन्ने षडयन्त्र तहत सुनचाँदी व्यवसायीलाई त्रसित बनाउन तिनीहरु पक्राउ गरेको हो ।





