एसपी रिपोर्टर
काठमाण्डौं, माघ १० : नेपालक प्रथम मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह (गज्जु बाबु) को २२ औं पुन्यतिथीको अवसरमा मधेशमा विभिन्न कार्यक्रम गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठ नेतृत्वको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले मधेशवादका प्रणेता स्व.गजेन्द्रनारायण सिँहको २२ औं पुण्यतिथिका अवसरमा काठमाडौंमा पनि विर्मश कार्यक्रमको आयोजना गरेको छ ।
मधेशवादी नेता राजेन्द्र महतो सहितको उपस्थितीमा भएको कार्यक्रममामा स्व. सिंहलाई स्मरण गर्नुका साथै मधेशको अवस्थाको विषयमा विर्मश गर्दै स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । गजेन्द्रबाबुका विचार र मधेशको वर्तमान राजनीति विषयक अन्तक्र्रिया कार्यक्रमसँगै विभिन्न राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित कार्यक्रम संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा बुधबार भएका छन् । आयोजक अध्ययन केन्द्र अहिले स्थापनाको १९ औं वर्षमा छ ।

मेचीदेखि महाकालीसम्मका जनताले भोग्नुपरेका सबैखालका उत्पीडनविरुद्ध मधेशी अधिकारको लडाइ सुरुवात् गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको हो । मधेशी, जनजाति, मुस्लिम, दलित आदिउपर हुने विभेदविरुद्ध राजनीतिक चेतना जागरण तथा अनवरत आन्दोलन गर्ने दृष्टिले स्व.सिँहको भूमिका अतुल्य रहँदैआएको छ ।

गजेन्द्रबाबु मधेशी जनताको बराबरीको अधिकार, स्वाभिमान, सम्मान र पहिचानका निम्ति अनवरत् संघर्षरत रहनुभएको र उहाँले देखाएको पथबाट नै मधेसले केही उपलब्धि पाएको केन्द्रका संयोजक महासेठले बताए । उनले गजेन्द्रबाबुले देखाएको समतामूलक समाजक स्थापनाका लागि उत्पीडित र बहिष्करणमा परेकाहरू एक्यबद्ध हुनुपर्ने औंल्याए । सो अवसरमा नेता तथा अभियन्ताहरु बुद्ध छिरिङ तामाङ, सुरेन्द्र चौधरी, कमला गुरुङ, सोहन साह, केशव झा, सन्तोस मेहता, राजकरण महतो, राम किशोर सिंह, कौशल सिंह, रुपा झा, राधा कायस्थ, कन्चना झा, सि एन थारु, अधिवक्ता बिकास ठाकुर लगायतको उपस्थिती थियो ।





