एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ :
नेपाली कांग्रेसका पुर्व उपसभापति नेता विमलेन्द्र निधीले धनुषाको पालिका अध्यक्ष माथी भएको संघातिक आक्रमण निन्दनीय रहेको बताउदै सिघ्र छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन मांग गरेका छन् ।

बिहिवार राती करिव १ बजे एक्लै पालिकाका विरामीलाई भेटेर जनकपुरधाम प्रादेशिक अस्पतालबाट स्कोरपियो चलाउदै जिरोमाइल स्थित निवास गइरहेका धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव माथी संघातिक आक्रमण भएको घटना बारे बुझन यादव निवास पुगेका निधीले धनुषाका प्रहरी प्रमुखलाई तत्कालै फोन गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/25553608990905091

सुन्दा घटना नियोजित र अध्यक्षलाई पछयाएर गरिएको जस्तो छ उनले भने, ‘यो घटना जनकपुरधाम नगरको सुरक्षा व्यवस्थालाई पनि उदांगो पार्ने घटना हो ।’ घटनाबात घाइते अध्यक्ष यादवले निधीलाई घटनाको विस्तृत विवरण सुनाउदै धनुषा प्रहरी प्रमुखको र प्रहरीको १०० नम्वरमा संयौं पटक फोन गर्दा समेत जवाफदेहिता नभएको र चार÷पाँच घण्टा पछि प्रहरी प्रमुख घटना स्थल पुगेको बताए । घटनास्थल तपसी चौक भन्दा केहि पश्चिममै जिरोमाइल प्रहरी चौकी छ ।

निधीले घटनाको राती स्थानियवासीहरुले पनि फोन गरेको र १०० नम्वरमा फोन गर्दा रेसपोन्स हुन नसक्ने बताइरहेको कुरा प्रहरी प्रमुखलाई सुनाउदै घटनालाई गम्भिरतापुर्वक लिन आग्रह गरेका थिए । विहिवार मध्यराती १२ देखि १ बजे सम्मको समयमा १०४७ नम्वरको स्कोरपियोमा सवार ७–८ जनाको समुहले अध्यक्ष यादव माथी जनकपुरधामको तपसीचौकमा संघातिक आक्रमण गर्दा उनी घाइते भएका छन् ।

यादवका अनुसार उनी माथी कलवार कुट्टी अगाडि पहिलो आक्रमण गरिएको थियो भने तपसीचौकमा उनी सवार स्कोरपियोलाई घेरेर आक्रमण गरिएको थियो । उनले कलवारकुट्टी नजिक पहिलो आक्रमणको प्रयास हुँदा आफु तपसीचौक पुगेर सिसिटिभी हुन सक्ने भएकाले मुख्यचौकबाटै धनुषाका प्रहरी उपरिक्षक र प्रहरीचौकीमा फोन गर्दा पनि सम्पर्क हुन नसकेको र त्यतिकैमा पुनः आफुलाई घेराबन्दी गरि गाडीवाट निकालेर लछाडपछाड तथा कुटपिट गरिएको बताए ।

यस अघि पनि स्वयम जिल्ला प्रहरीमा आफु असुरक्षित रहेको जानकारी गराईसकेको बताउदै उनले आफु राती एक्लै गाडीमा रहेको थाहा पाएरै नियोजित रुपमा आफु माथी आक्रमण भएको बताए । उनले स्वयम खाना खाएर दैनिक राती पालिकाका स्थानियहरु उपचारार्थ अस्पतालहरुमा पुगेर भेटघाट गर्ने गरेकोमा राती एक्लै आफैले गाडी चलाएर आउने क्रममा घटना भएको बताउछन् । एता जसपा नेपाल धनुषाले २४ घण्टा भित्र घटनामा संलग्न दोषिलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन मांग गर्दै नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ ।