राजतन्त्रको कुनै संस्करण मधेशी र थारुहरुको हितमा हुने छैन : तमलोपा


एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले राजतन्त्रको कुनै पनि संस्करण मधेशीहरुको निमित्त घातक हुनेछ भन्दै तराई–मधेशका जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढताका साथ उभिन अपील गरेका छन् ।
अध्यक्ष लालले भनेका छन् –‘राजतन्त्र भनेको शक्तिको श्रोत एउटाको हातमा हुनु हो । जनताको सर्वोच्चता खोसेर फेरि व्यक्तिको सर्वोच्चता कायम गर्नु हो । आज मधेशी र थारुहरु धेरै पछाडि परेका छन् र त्यसको निमित्त निश्चित रुपमा बढी जिम्मेदार राजतन्त्र नै हो । शाहवंशको इतिहास नाक–कान काट्ने, बौलाहा शासक दिने, राज्यको शक्ति सुक्री–विक्री गर्ने, आफ्नै वंशको हत्या गर्ने, ड्रगिस्ट र लट्ठ हरुको इतिहास हो ।’
आज महोत्तरीको जलेश्वरमा तमलोपाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष वृषेशचन्द्र लालले प्रादेशिक संरचना र राष्ट्रियसभाको औचित्यबारे प्रश्न उठाउनेहरु प्रतिगमनको पृष्ठपोषक भएको आरोप लगाए । अध्यक्ष लालले प्रादेशिक संरचना प्रदेशका जनताको पहिचान र प्रदेशमा स्वशासनको प्रत्याभूतिसंग जोडिएको तथा राष्ट्रीयसभा संघीय संसदमा प्रदेशको प्रतिनिधित्वको निमित्त रहेको भन्दै यी दुबैलाई अझ अधिकारसम्पन्न बनाउनु आवश्यक भएको बताए ।
अध्यक्ष वृषेशचन्द्र लालले प्रदेश सरकारहरु प्रदेशलाई विकासको पथमा कसरी आगाडि बढाउने स्पष्ट दृष्टिका साथ बढनु पर्दछ जो दुर्भाग्यवश भइरहेको छैन बताउँदै मधेश सरकारले आफ्ना प्राथमिकताहरु सार्वजनिक गर्नु पर्ने माग गरे । यसै प्रशिक्षण कार्यक्रममा आफ्ना विचारहरु राख्दै तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंहले आन्दोलन मुद्दामा आधारित हुन्छ, कुनै आन्दोलन कसैको सत्ता प्राप्ति वा पदको निमित्त हुँदैन भन्दै मधेश आन्दोलनको शक्ति र उर्जालाई केही व्यक्तिहरुले सत्ता र पदको निमित्त दुरुपयोग गरेको बताए ।
नेता डा. सिंहले आजको परिस्थिति यिनकै गैरजिम्मेदारीपूर्ण आचरणले आएको आरोप लगाए । डा. विजयकुमार सिंहले वर्त्तमान निर्वाचन प्रणालीलाई राजनीतिक दलहरुले विकृत बनाइसकेको र यसबाट सही वांछित प्रतिनिधित्वको छनौट गाह्रो हुन पुगेको भन्दै निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्नु भयो । डा. सिंहले पूर्ण समानुपातिक प्रणालीमा जनता व्यक्ति, जात, धर्म वा पैसाको पोकोले होइन पार्टीको कार्यक्रम र त्यसप्रतिको प्रतिवद्धताको आधारमा पार्टीलाई मत दिन्छन् ।
अहिले निर्वाचनमा भइरहेको पैसाको पोकोको खेल र विभिन्न जालझेलको इलाज पूर्ण समानुपातिक प्रतिनिधित्व नै हो भन्दै डा. सिंहले त्यसैले तमलोपाको एउटा मुख्य माग पूर्ण समानुपातिक प्रणाली हो भने । तमलोपाद्वारा आज सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु दिलिप पाण्डेय, रामजी राय, धीरेन्द्र सिंह, सतीश दास, असगर अली, भोलानाथ झा, उमेशकुमार मण्डल, रामकृपाल साह, भगिरथ लाल, सत्यनाराण साह, मो. युसुफ साफी आदिले आ–आफ्नो विचार राख्नु भएको थियो ।
