एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ :
आईतवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो र शिर्षनेता अनिल झा अनुपस्थित भए । अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको बताइएको छ । एता नेता अनिल झा भने लोसपाको कुनैपनि गतिविधीसंग मतलव राख्न छोडिसकेको बताइन्छ ।

यसबारे नेता झा संग बुझन खोज्दा सम्पर्क हुन नसकेपनि उनका निकट स्रोतले उनी अव लोसपामा नरहने पक्का पक्की जस्तै भइसकेको बताए । नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, ‘लेखिदिदाँ हुन्छ, केहि अप्रत्यासित भएन भन्ने अव वहाँको लोसपामा बस्ने सम्भावना छैन ।’ वहाँको बाटो अव के हुन्छ त ? भन्ने प्रश्नमा ति स्रोतले भन्यो, ‘मधेशमा बन्ने नयाँ कुनै शक्ति वा शिर्षस्थ पार्टीमा गएर अगाडि बढनु हुन्छ ।’

राष्ट्रियसभा निर्वाचन, पार्टी संगठन लगायतका ९ वटा एजेण्डामा छलफल गर्न गत आइतबार विहान ११ बजे काठमाण्डौंको अनुपम फुडल्याण्डमा बैठक बोलाइएको थियो । तर बैठकमा नेता महतो र झा गएनन् । महतोले नेताहरुलाई आफू नआउने खबर पठाए । केन्द्रीय समिति विस्तारका क्रममा धेरै पुराना नेताहरु छुटेकाले उनीहरुलाई समेट्नुपर्ने महताको अडान छ । यसबारे करिव दुई महिनाअघि भएको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुरले सम्बोधन गर्छु भने पनि अहिलेसम्म नगरेकाले बैठकमा जानुको औचित्य नभएको वरिष्ठ नेता महतोको तर्क छ ।

स्रोतका अनुसार महतो पनि लोसपामा अटाउन नसक्ने वातावरण सृजना भइसकेको छ । महतोले या त पार्टीको कार्यकारी अधिकार वा नेतृत्व चाहेको छ नभए मधेशमा कसरी सशक्त शक्ति बनाएर अगाडि बढने अन्य विकल्पमा समेत काम गर्न थालेको बताइन्छ । महतोले नेता झालाई संगै मिलेर अगाडि बढन प्रस्ताव गरेको भएपनि झाले ठोस जवाफ नफर्काएको उनी निकट स्रोतले जनाएको छ । पछिल्ला समय नेता झा पार्टी भन्दा पनि अन्य कामहरुमा केन्द्रित हुन थालेको बताइन्छ ।