एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १९ : नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको आरोप लगाउँदै विभिन्न दल परित्याग गरी आएका नेताहरुको एक समूहले नेपाल मधेस कम्युनिष्ट पार्टीको गठन गरेका छन् । गत असोज ४ गतेको बैठकबाट नेपाल मधेस कम्युनिष्ट पार्टीको ५१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरिएकोमा जनकपुरधाममा कार्तिक १८ र १९ गतेको बैठकबाट पार्टीको पदाधिकारी चयन गरिएको हो ।
नेकपा एमालेको केन्द्रिय सदस्य पदबाट राजिनामा दिएका नेता प्रमोदनारायण यादवलाई पार्टीको केन्द्रिय अध्यक्षमा चयन गरिएको छ । पार्टीको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी ओली, उपाध्यक्षमा मातृका यादव र रामशरण यादव, महासचिवमा दिवाकर शर्मा, उपमहासचिवमा शंकर यादव र शंखु जैसी, सचिवमा गौतम ढुंगेल, कल्पना यादव र काजल खातुन चयन भएका छन् ।

पार्टीको केन्द्रिय अध्यक्षमा चयन भएका प्रमोदनारायण यादवले नेपालमा बहुदलिय जनवादबाट समाजवाद ल्याउने सपना साकार हुन नसक्ने भएकाले विशुद्ध कम्युनिष्ट पार्टीको आफूहरुले निर्माण गरेको बताए । नयाँ जनवादको अभियानमा लागेकाहरुलाई एकठाउँमा उभ्याएर समाजवाद तर्फ मुलुकलाई उन्मुख गराउने उनले दावी गरे । यसका साथै उनले राज्य पुनर्संरचनामा त्रुटी देखिएको बताए । यसले मुलुकमा आर्थिक भार बढाएकाले मुलुकमा ३ वटा प्रदेश मात्रै हुनुपर्ने उनको भनाई थियो ।
पार्टीका बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओलीले देश विकासमा मधेसको योगदान उच्च रहेपनि अधिकारको सवालमा बेइमानी हुँदै आईरहेको आरोप लगाए । ओलीले देशको कुल ग्राहस्थ उत्पादनमा ५० प्रतिशत योगदान दिने मधेसको विकासका लागि खासै ध्यान शासक वर्गबाट नदिइएको गुनासो उनले गरे ।





