एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा जनकपुरधाममा मधेश प्रदेशको पहिलो प्रादेशिक अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै एमालेका दोस्रो तप्काका नेताहरुले मधेशलाई क्षेत्रीय दलहरुले बर्बाद पारेको आरोप लगाएका छन् ।
क्षेत्रीय दलहरुले मधेशका एजेज्डा, मर्म, विकास, पहिचान र अधिकारका लागि केहि गर्छ भन्ने आशा मधेशी जनतामा थियो तर विगतका एक दशकको राजनितिले ति राजनितिकदलहरुको चरित्र र सत्तालोभले त्यो असम्भव सावित गरिदिएको एमाले मधेश प्रदेशका ईन्जार्च योगेश भट्टराईको तर्क थियो ।
महासचिव शंकर पोखरेल देशको सातवटै प्रदेशहरु मध्ये मधेशका सरकार बजेट खर्च गर्न नसक्ने, गरेकोमा काम कम र भ्रष्टाचार तथा बेरुजु धेरै गर्ने कामहरु गरेर सरकार चलाउन असक्षम सावित भएकाले एमालेको एकल बहुमतको सरकारको मांग गरे ।
वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेको जन्मभुमि, कर्मभुमि र भविष्य पनि मधेशनै रहेकाले बिचमा आएको क्षेत्रीय दलहरुप्रतिको भुलभुलैया मेटिएर पुन: मधेशका लागि जनताले एमालेनै रोज्ने संकेत देखिसकिएको दावी गरे ।
पार्टी सचिव तथा कोशी प्रदेश ईन्चार्ज रघुविर महासेठले केपि शर्मा ओली नेतृत्वको सरकारले गरेको कामकै कारण मधेशमा आज सडक, रेल सम्भव भएको र सिचाँई तथा कृषिको आशा जागेको बताए । पार्टी अध्यक्ष ओली पहिलो पटक रौतहटमा पक्राउ परेको हिजो असोज २३ गते पचास वर्ष पुरा भएको स्मरण गर्दै एमाले र मधेशको सम्बन्ध खुलाए ।
पोलिटब्यूरो सदस्यहरु लिलानाथ श्रेष्ठ र जुली महतोले मधेशी दलहरुको नेतृत्वमा मधेशले के पायो र के गुमायो भन्ने कुरा बुझाउन आवश्यक नरहेको भन्दै एमालेको सरकार बिना मधेशको विकास असम्भव जस्तै प्रमाणित हुदै गएको तर्क गरे । श्रेष्ठले बिना कमिसन छोरीहरुलाई साइकल समेत दिन नसक्ने मधेशी सरकारलाई जनताले चिनिसकेको टिप्पनी गरे ।





