एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका दोस्रो बरियताका वरिष्ठ नेता राजेन्द्र महतोले आफुलाई बदनाम गर्न बिना जानकारी अनिल महासेठको नाम महासचिवमा राखिएको भन्दै अहिले पार्टीलाई भइरहेको बदनामीको सम्पुर्ण जिम्मेवारी पार्टी अध्यक्ष महन्त ठाकुरले लिनु पर्ने बताएका छन् ।
एक टेलिभिजनलाई बुधवार अन्तरवार्ता दिदै उनले मेरो ज्वाँई महासेठ पार्टीमा १५ वर्ष देखि सक्रिय र अन्य नेता जस्तै अगुवाई गर्ने रोलक्रममा रहेको र महासचिवको लायक सक्षम रहेपनि म संग बिना जानकारी महासचिवमा नाम राखिएको आरोप लगाएका छन् । अन्तरवार्ताकारले अरु नेताहरुले आफना नातागोतालाई ल्याउँदा बदनाम हुने भएपछि तपाईलाई पनि बदनाम गर्ने मनसाय होला है ? भन्ने प्रश्नमा उनले नियत त्यही रहेको आरोप लगाएका छन् ।
उपेन्द्र महतो मेरो भतिज रहेपनि पार्टीमा २५ वर्ष देखि सक्रिय र दुई दुई पटक जननिर्वाचित प्रदेशसभा सदस्य रहेको स्मरण गराउदै आक्रोसित महतोले भने, ‘उपेन्द्र महतोलाई मात्र मेरो भतिज भन्नु राजनितिक अपराध हो।’ उनी उपमहासचिव सम्मको पदमा पुगेर काम गरिसकेको नेता हो, कुन ठुला नेताले चिन्दैन? प्रश्न गर्दै उनले उपेन्द्र महतो मेरो भतिज मात्र नभई पार्टीको अगुवा नेता रहेको बताए ।
हरेक राजनितिक दलका शिर्ष नेताहरुको आफन्त राजनिति र दलमा आवद्व रहेको तर्क उनले उनीहरुको राजनितिक योगदान, भुमिका र सक्रियता हेरेर मात्र आरोप लगाउनुपर्ने उनको भनाई छ । राजनितिक योगदान, पार्टीमा भुमिका र सक्रियता नभएपनि नातेदार भएकै कारण वा आधारमा गरिएको मनोनयन मात्र नातावाद र कृपावाद हुने उनले स्पष्ट पारे ।
अनिल र उपेन्द्रको बारेमा अन्य जस्तै लेख्नु मिडियाको अज्ञानता र दुश्प्रचार रहेको उनको आरोप छ । उनले भर्खरै पार्टी अध्यक्षको अगुवाईमा भएको निर्णयमा व्यापक त्रुटी भएको पनि स्वीकार गरेका छन् भने समाजिक सञ्जालमा भने अलिक अनावश्यक रुपमै प्रचारवाजी भइरहेको पनि बताए ।





