एसपी रिपोर्टर
काठमाण्डौं, भदौ २० : खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझन पार्टी सभापती शेरबहादुर देउवा अस्पताल पुगेका छन् । ट्रमा सेन्टरमा उपचारार्थ यादवको स्वास्थ्य अवस्था बारे देउवाले जानकारी लिनुका साथै घटना बारे पनि बुझेका छन् ।
देउवाले दिनदाहारै अपराधिक काम गर्ने जो कोहिलाई पनि कडा कारवाही हुनुपर्ने बताए । यादव माथी खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् ।

रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए । खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा पुरयाएर उपचार भइरहेको छ ।
कांग्रेसको विरोध
नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनापछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’
कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तरुण दल आक्रोसित
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भ्रातृ संस्था तरुण दलले सरकारप्रति आक्रोश पोखेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकालेर यस्ता घटनाक्रमप्रति चुप लागेर बस्न नसकिने बताएका छन् । ‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न नसक्ने ?’ उनले प्रश्न गर्दै भने, ‘यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन ।’
नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई छानी छानी आक्रमण गर्ने कार्य भएको तरुण दलले जनाएको छ । श्रृंखलावद्ध घटनाक्रमका कारण तरुण दल सहन नसक्ने अवस्थामा पुगेको र त्यसबाट आउने परिस्थितिको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने चेतावनी गुरुङ्ले दिएका छन् ।





