एसपी रिपोर्टर
विराटनगर, असार २२ : कोशी प्रदेशका सभामुखलाई सत्ताको जोड घटाउमा प्रयोग गरिएको भन्दै एमाले कोशी प्रदेशका ईन्चार्ज रघुविर महासेठले आपती जनाएको छ । पार्टीको केन्द्रिय सचिव समेत रहेका उनले सत्ताको जोड घटाउमा सभामुखलाई मुछेर गठबन्धनकारी दलहरुले महाभुल गरेको बताएका छन् ।
सत्ता र सरकारकै लागि यति हद सम्मको अवैध गतिविधी शोभनिय भएन उनले भने, ‘संविधान र नियम कानुन मिचेर बनाइएको सरकारले जनताको हितमा केहि गर्न पनि सक्दैन ।’ उनले सो खेलमा प्रयोग भएर सभामुखलाई पनि कुनै फाईदा नहुने समेत बताए ।
कोशाी प्रदेशमा बहुमतको कुनै सम्भावना नदेखेपछि संविधानको मर्म विपरित गठबन्धनकारी दलहरुले गलत प्रवृतीको प्रदर्शन गरेको भन्दै उनले यस्ले कसैलाई फाईदा नगर्ने बताए ।
कोशीमा सरकार गठनका लागि प्रदेशसभाको कुल ९३ सदस्यमध्ये बहुमत संख्या ४७ जनाको समर्थन आवश्यक पर्छ । राप्रपाले साथ नदिएपछि सभामुखलाई नजोड्ने हो भने कांग्रेस माओवादी गठबन्धनसँग बहुमत पुग्दैनथ्यो । कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।
त्यसैले मुख्यमन्त्री थापाले सभामुख गौतमको समेत समर्थन लिएर बहुमत भएको दाबी गरेका छन् । कांग्रेस संसदीय दलका नेता थापाभन्दा पहिले नेकपा एमाले र राप्रपाले बिहीबार दिउँसो प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो । तर प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।





