एसपी रिपोर्टर
धनुषाधाम, जेठ २२ :
नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले मधेश र यहाँको लाखौं युवाहरुको भविष्य बर्बाद पार्ने नागरिकता विद्ययेकका विरोधी नेकपा एमाले मधेश प्रदेशमा कसरी पहिलो पार्टी भयो ? भनेर प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा हाल अनुशासन विभाग प्रमुख आनन्द प्रसाद ढुङ्गानाको पिता शहिद ठाकुर प्रसाद ढुङ्गानाको ६० औं पुण्य तिथिको अवसरमा ढुङ्गानाको पैतृक गाँउ धनुषाधाम गोविन्दपुरमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले मधेशलाई उत्साहित बनाएको नागरिकता विद्ययेक प्रमाणीकरणको पुन: अवरोधक बनेको नेकपा एमाले मधेशमै पहिलो ठुलो पार्टी बन्नु दु:खद रहेको बताए ।

उनले एमाले मधेश विरोधी रहेको कुरा आफुहरुले बझाउन नसकेको र आफै आन्तिरक द्वन्द्वमा फँसेकाले एमालेले फाइदा उठाइरहेको भन्दै कांग्रेसी नेताहरुले आफुले अहिले सम्म पाएको र गरेको प्रगतीमा सन्तुष्ट भएर पार्टीका लागि काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले शहिद ढुङ्गानाहरुले देखाएको बाटो र सिद्वान्तबाट अहिलेका नेताहरु भटकेर गुट उपगुटमा लागेपछि पार्टीको यो अवस्था हुन गएको बताए ।

नेता आनन्द प्रसाद ढुङ्गानाले २ हजार ७ साल देखि अहिले सम्मको सम्पुर्ण आन्दोलन र परिवर्तण हुदै वर्तमान संविधान समेत कांग्रेसकै नेतृत्वमा बनेपनि नेताहरु जनतालाई यि कुराहरु बुझाउन नसक्दा र आफनै स्वार्थमा लाग्दा कांग्रेस कमजोर भएको भन्दै अझै पनि समय रहेकाले सुध्रिन आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेसका अनुभवी नेताहरुले स्वतन्त्रता सेनानी समेत रहेका शहिद ढुङ्गानाको योगदान र पार्टी तथा संगठनका लागि खेलेका भुमिकाको चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा कांग्रेसका बयोवृद्व नेता शिवधारी यादव, जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साह, वर्तमान उपमेयर किशोरी साह सहितकाले शहिद ढुङ्गानालाई स्मरण र श्रद्धाञ्जली अर्पण गरेका थिए भने मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह, पार्टी बाट निर्वाचित विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरु सहित जिल्ला र धनुषा क्षेत्र नं. १ का नेताहरुको बाक्लो उपस्थिती थियो ।