एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् । स्थानीयबासीहरुले सोही वडाका वडाध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् ।
उनीहरुले सार्वजनिक जग्गा जातीय अतिक्रमण गर्न पाइदैन, भ्रष्ट र तानाशाह वडाध्यक्ष मुर्दावाद, दोषीलाई कारवाही गर, सामाजिक सदभाव कायम गरलगायतका मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । गत बिहीबार बिहान करिब ८ बजेको समयमा बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयबासीले विरोध जनाएका थिए ।
उनीहरुले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित रोक्न खोज्दा वडाध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायत दर्जनौं व्यक्तिले स्थानीय सुनिल यादव, सुरुज यादव, अमीर्ती देवी, अजय राउत लगायतका करिब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । घाइतेहरु मध्ये ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाडौं लगिएको छ ।

यादव स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थिए । केहि दिन अगाडि उक्त वडाका प्रत्यासी उम्मेदवार विशेश्वर शर्मासहितका स्थानीयले वडाध्यक्ष सहनीविरुद्ध नगर प्रमुख मनोजकुमार साहलाई ११ बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए । गत बैशाख २१ गते वडाध्यक्ष सहनीले नगर प्रहरी र जिरोमाइल प्रहरी चौकीको सहयोगमा सिक्सलेन सडक खण्डमा रहेको भोला मण्डलको बालुवा उठाई उपमहानगरमा नबुझाई बेचेको र बाँकी आफ्नै बालुवा गिट्टीको डिपोमा राखेको लगायतका आरोप उनीहरुको थियो ।
घटनापश्चात् स्थानीय प्रशासनले मिलापत्र गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय विजय यादवले जानकारी दिए । उनीहरुले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
वडा अध्यक्षको पक्षमा एमाले
एता वडा अध्यक्षको पक्षमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउदै वडा अध्यक्ष माथी नियोजित मुद्दा दायर गरि फसाउने प्रपञ्च भइरहेको भन्दै बचाउ गरिएको छ । नेकपा एमालेका नेता कार्यक्रताहरु दुवै निकायमा पुगेर वडा अध्यक्ष सहनी अभिभावकिय भुमिका निर्वाह गरेको भएपनि दलिय आधारमा उनलाई फँसाउने काम भइरहेको भन्दै अनुसन्धानमा पक्षपात नगर्न प्रशासनलाई नेकपा एमालेले आग्रह गरेको छ । वडा अध्यक्ष सहनी एमालेबाट निर्वाचित भएका हुन् ।





