एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १४ :
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले तत्काल सरकार टिकाउने र भत्काउने खेती नगर्ने यद्यपि नयाँ केहि हुने भए त्यस परिस्थतीलाई नर्कान नसकिने पनि बताएका छन् । महोतरीको बर्दिवासमा एमालेको अभियान मिशन ग्रासरुट सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अहिले सरकार टिकाउने र खसाउने काममा नलाग्ने तर नयाँ परिवेशको सृजना भए त्यसलाई नर्कान नसकिने बताए ।

उनले गत वैशाख १० गतेको निर्वाचनमा एमालेले केहि नपाउँदा केहि गुमाउन पनि नपरेकाले खुसी र दुःखी हुनुपर्ने अवस्था नरहेको बताए । उनले चितवन र तनहुँमा केहि मत कम भएपनि बारामा पार्टीले प्रगती गरेको बताए । देशमा नयाँ झोका, हावाहुरी चलेको भन्दै त्यसले दलिय प्रणाली मजबुत नहुने र एमाले दलिय प्रणालीको विरुद्वमा जाने पार्टी पनि नरहेको उनले स्पष्ट पारे ।

उनले नेपालमा निश्चित उद्देश्य, सिद्वान्त र एजेन्डा बिना हावाको झोँकाको भरमा कुनै पनि राजनितिक दल टिक्न नसक्ने पनि बताए । विभिन्न हावाहुरी सहेर यहाँ सम्म आएको एमाले परिस्थितीको सामना गर्न अहिले पनि तयार रहेको उनको तर्क छ । वर्तमान सत्ताधारी गठबन्धन आफनै करणीले धरासायी हुने समेत उनले दावी गरे ।