एसपी रिपोर्टर
काठमाण्डौं, चैत २८ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गर्नु भएको छ । सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरी सरकारको नेतृत्व लिन सक्ने बताउनु भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढनु परेको पनि दोहोर्याउनु भयो । त्यस अवसरमा सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिनु भयो । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको उहाँको स्विकारोक्ति थियो ।
