एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टी नेतृत्वको सरकारले पाँच वर्षमा मधेश प्रदेशमा कुनै विकास नगरेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा आइतबार एमालेसम्बद्ध अखिल नेपाल किसान महासंघको तेश्रो जिल्ला सम्मेलनमा सचिव महासेठले लालबाबु राउत नेतृत्वको विगतको सरकारले पाँच वर्षमा कुनै काम नगरेको बताउनुभएको हो ।
उहाँले मधेशी जनताको विकास नभए पनि मधेशी नेताको खुब विकास भएको टिप्पणी गर्नुभयो । सचिव महासेठले प्रचण्ड नेतृत्वको सरकार अबको चार वर्षसम्म नटिक्ने पनि दाबी गर्नुभयो । चार महिनामा मन्त्रीमण्डललाई समेत पूर्णता दिन नसक्ने प्रचण्ड नेतृत्वको सरकार चार वर्ष टिक्नै नसक्ने उहाँको भनाइ छ । सचिव महासेठले देश र जनताका लागि नभई स्वार्थका लागि प्रचण्ड सरकार बनेको पनि आरोप लगाउनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न सदैब सक्रिय रहने कांंग्रेस सभापति शेरबहादुर देउवालाई नेता मानेर प्रचण्ड, झलनाथ र माधव नेपाल हिँडेकोसमेत उहाँको टिप्पणी छ । सचिव महासेठले नेकपा एमालेको सरकार हुँदा किसानका लागि थुप्रै काम गरेको पनि दाबी गर्नुभयो । एमाले नेतृत्वको सरकारका बेला विभिन्न स्थानमा सिँचाइको व्यवस्थालगायत किसानको हितमा कामहरू भएको बताउनुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेश एमालेका संसदीय दलका नेता सरोज यादव, एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, रेखा झा, किसान महासंघका मधेश प्रदेश अध्यक्ष रामऔतार यादव, सन्तोष यादव, अरविन्द साह, मनोज खडका, भोला यादवलगायत सहभागी भएका थिए ।





