एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति कार्यालयमा अडकिएर रहेको नागरिकता विधेयक अविलम्ब पारित गराउनका लागि पहल गर्न सरकारसंग आग्रह गरेका छन् । आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौ नेपालीले भोगिरहेकाले सो विधेयकलाई प्रमाणिक गराउनका लागि पहल गर्न उनले आग्रह गरेका हुन । जनकपुरधाममा आइतबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलमा बोल्दै खाँणले संविधानले प्रत्येक नेपालीलाई नेपालको नागरिकता प्राप्त गर्न पाउन अधिकार दिएकाले सो अधिकारबाट बञ्चित गर्ने अधिकार कसैसंग नरहेको बताए ।
दूबै सदनबाट दुई पटक पारित गराएर नागरिता विधेयक अहिले राष्ट्रपति कार्यालयमा अडकिएको छ, उनले भने ‘संवैधानिक व्यवस्था अनुसार एक पटक विधेयकलाई राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरण बाहेक अर्को कुनै विकल्प हुँदैन ।’ खाणले अगाडी भने ‘राष्ट्रपति कार्यालयमा प्रमाणिकरण नभई अडकिएर रहेको सो नागरिकता विधेयक प्रमाणिकरणका लागि वर्तमान सरकारले पहल गर्नु पर्छ र यसकालागि हामीले अग्रसरता देखाउने छौँ ।’

नागरिकता बिना नेपालीले नै एउटा सिमसम्म पाउन सकेका छैनन्, आफ्नै देशमा अनागरिक भएर बाच्नुको पीडा कुनै एक व्यक्तिको समस्या नभएर राष्ट्रिय समस्या रहेको उनको भनाई थियो । यसका साथै विभिन्न आन्दोलनको क्रममा राजनीतिक मुद्दा नेता कार्यकर्ताहरुमाथी लगाइएका मुद्दा फिर्ता प्रकृया समेत अविलम्ब अगाडी बढाउनुपर्ने खाणले जोड दिए । एक अर्को प्रसंगमा पूर्वमन्त्री खाणले नेपाली कांग्रेस संघिय सरकारमा शामिल भईसकेको अवस्थामा प्रदेश सरकारहरु समेत पुनर्गठन हुने बताए ।
गठबन्धनमा आवद्ध दलहरुबिच प्रदेश सरकारहरुमा आलोपालो गरि मुख्यमन्त्री सैद्धान्ति सहमति भएको उनले जानकारी दिए । वैशाख १० गते हुने उपनिर्वाचन लगत्तै सात वटै प्रदेश सरकार पुनर्गठन तथा गठबन्धनमा आवद्ध दलहरुलाई कुन विधिले प्रदेश सरकारहरुमा शामिल गराउने लगायतको विषयमा छलफल अगाडी बढाइने खाणले बताए ।
