एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ :
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पछिको दोस्रो प्रतिनिधीसभाको पहिलो बैठकमा बोल्दै राजनितिक दलका नेतृत्वकर्ता सांसद एवं नेताहरुले आ–आफनो धारणा राखेका छन् । सर्व प्रथम बोलेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेका विभिन्न तर्कहरु मध्येबाट यो संसद आफुहरुको लागि परिक्षाको केन्द्र रहेको तर्कको चर्चा भइरहेको छ । उनले सरकारको नेतृत्व गरेपनि के गर्न सक्छु भन्ने कुरा आफनो लागि महत्वपुर्ण हुने आशय व्यक्त गरेका छन् ।

त्यसपछि बोलेका कांग्रेसका सभापती शेरबहादुर देउवाले बनेको नयाँ सरकारलाई बधाई दिदै जनताको हितमा काम गर्न शुभकामना मात्र दिएन जनताले मजुबत प्रतिपक्षी पनि पाएको भन्दै त्यस तर्फ पनि सरकारलाई ध्यानाकर्षण गराए । अनि बोल्न आए नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली । उनैको साहारामा बनेको वर्तमान सरकारलाई विकास र सुशासनको सवालमा जिरो टोलेरेन्समा काम गर्न आग्रह गरे ।

त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिक्षानेले छातीमा हात राखेर भने म सहित मेरो पार्टीका कुनै पनि सांसदले अनियमितता गर्दैनन गरे कुनै पनि निर्मम सजाय भोग्न तयार हुनेछौं बोले । त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पहिलो प्रतिनिधीसभा छोडदा धेरै सदस्य लिएर आउने भनेको तर चाहेजती संख्या नभएपनि जनताको बदलिदो आशा र भरोसाको प्रतिनिधित्व गर्दै पुनः संसदमा आइपुगेको बताए ।

त्यपछि जसपाका संसदिय दलका नेता रामसहाय प्रसाद यादव बोल्दै भने, ‘मधेशमा गोली चलाएर बनाइएको संविधानमा रहेको असन्तुष्टिहरु सम्बोधनको जस कस्ले लिने भन्ने कुरा हाम्रो लागि मुख्य विषय हो ।’ उनले नागरिकताका विषय सहित मधेशका मुद्दाहरु स्मरण गराए । अनि बोल्न आए नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल । उनले भने, ‘प्रधानमन्त्रीको प्रतिवद्वता राम्रो लाग्यो तर बोली र व्यवहार फरक हुन भएन ।’

त्यसपछि बोल्न आएका जनमत पार्टीका अध्यक्ष तथा दलका नेता डा. सिके राउतले प्रधानमन्त्री प्रचण्ड तर्फ संकेत को टिप्पनी स्मरण गराउदै भने ‘संसदमा आएका नयाँ पार्टीमा आवेग त छदै छ प्रधानमन्त्री ज्यू अग्रजलाई सम्मान गर्ने आचरण पनि हामि संग छ ।’ उनले अगाडि भने ‘ नेपाल खास गरि मधेशका लागि गणतन्त्र नौलो प्रणाली होइन परापुर्व कालमा मधेशसंग रहेको गणतन्त्र खोसिएको थियो त्यसको पुर्नस्थापना मात्र गरिएको हो ।’

बिश्वले गणतन्त्र देखेको र सुनेको पनि थिएन, लेटोले गणतन्त्र लेखेको पनि थिएन त्यसै बेला ईशा पुर्व छैठो, सातौ सताब्दीमा पनि मधेशमा गणतान्त्रिक व्यवस्था थियो, बज्जी गणतन्त्र कपिलबस्तु गणतन्त्र, कोलियो गणतन्त्रहरु रहेको उनको तर्क थियो । चुनावमा टिकट पाएपनि राजाहरुसंग भेट हुन नपाउने त्यो समय र अहिले ठुलठुला धनाढय र सामन्तहरु समेत समयमा गरिव जनताहरुको घर र झोपडीमा नतमस्तक हुन जानुको एक मात्र कारण गणतन्त्र रहेको उनले बताए ।

त्यसपछि बोलेका लोसपा नेता सरतसिंह भण्डारीले आफु चुनावमा जनताको बिचमा गएको बेला निराशा, अबिश्वास र केहि आशा पनि पाएको भन्दै जनमत र रास्वपा सहितका पार्टीका नेताहरुलाई प्रण गरि जनताको आकांक्षाका लागि एक भएर अगाडि बढन आग्रह गरे । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटना बन्द कोठामा नभएको भन्दै हजारौंको आँखा अगाडि भएको घटनामा गलत मतशायले फसाइएका रेशम चौधरी र थारुहरुका विषय उठान गरिन ।

टिकापुर घटनामा शहिद भएका परिवारहरुले मलाई चुनाव जित्दा बधाई र माला लगाइ दिए, शहिद परिवारकै सदस्य मेरा पार्टीबाट चुनाव लडन खोजे, त्यो घटनामा खटेका दुई जना ईन्सपेक्टर पनि आफनो पार्टीबाट चुनाव लडन खोजेको भन्दै हामि हत्यारा कसरी भयौ ? उनले प्रश्न गरिन । कांग्रेस, एमाले र माओवादीका अध्यक्ष तथा सभापतीहरु, वर्तमान प्रधानमन्त्री र गृहमन्त्री पनि रेशम चौधरी निर्दोष भन्ने तर जेलमा कोचि रहने ? उनको अर्को प्रश्न थियो ।

त्यसपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी, स्वतन्त्र सांसद अमरेश नारायण सिंह, प्रभु साह, योगेन्द्र मण्डल सहितका सांसदहरुले बोलेका थिए ।