एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएसंगै दुवै पार्टीका नेता कार्यक्रता उत्साहित भएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको हो । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो ।
आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । मधेशमा लोकप्रिय मतका साथ राष्ट्रिय दलका रुपमा उदाएको डा. राउत नेतृत्वको जनमत पार्टी र कैलालीमा एक हिसावले जिल्लानै कब्जामा लिएको नागरिक उन्मुक्तिको कार्यगत एकता सफल भए भविष्यमा पार्टी एकता पनि हुने सम्भावना रहेको नेताहरु बताउछन् । यस्ले मधेश र थरुहट मिल्दा क्षेत्रीय शक्ति बढने अनुमान गरिएको छ ।
किसान आन्दोलन, शिक्षा, स्वास्थ्य र रोजगारको मुख्य एजेन्डा बोकेको जनमत र थरुहटको उत्थान, पहुँच र जनमत पार्टी सरह शिक्षा, स्वास्थ्य र रोजगारमा थारुहरुको पहुँचका लागि गठन भएको भनिएको उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर कामकारवाही देखेर पछि सरकारलाई कस्तो सहयोग गर्ने भन्ने विषयमा समेत दुवै पार्टी एकमत रहेको देखिन्छ ।

दुवै दलका नेतृत्वद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरू लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले सहमती भएकै दिन देखि पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, नागरिकता विद्ययेक पारितका लागि दबाब दिने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूमाथि लगाइएका झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रिया मार्फत सरकारलाई दबाब दिने उल्लेख सहितको १२ बुँदे मुद्दा साँझा रुपमा प्रस्तुत गरिएको छ ।





