एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : मधेश प्रदेशसभाका लागि निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रवार सपथ ग्रहण हुने भएको छ । आज प्रदेशसभा सचिवालयमा बसेको सर्वपक्षिय बैठकमा पुष १५ गते शुक्रवार २ बजे १ सय ७ जना प्रदेशसभा सदस्यहरुले सपथ ग्रहण गर्ने सहमती जुटेको छ ।
सर्वप्रथम जयेष्ठ प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराउने र त्यसपछि जयेष्ठ सदस्य न्यौपानेले वाँकी १ सय ६ जना सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सर्वपक्षिय बैठकमा सहभागि विभिन्न राजनितिक दलका सांसदहरुले आ–आफनो पार्टीले मधेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताए । मधेश प्रदेश सरकारमा जसपा र जनमतको मुख्य दावी देखिएको छ ।

एमालेका सांसदहरु भने दलिय सहमतीका आधारमा आफुहरु अगाडि बढने बताउदै पार्टीको निर्णय आउन वाँकी रहेको बताए । प्रतिपक्षी कांग्रेस र लोसपाले भने संघिय सरकारको गठबन्धन अनुसार नै प्रदेशमा सरकार बन्ने भएकाले आफुहरु प्रतिपक्षमा बस्न तयार रहेको बताए ।
मधेशमा प्रदेश सरकार निर्माणका लागि ५४ सांसदको आवश्यकता रहेकोमा एमाले नेतृत्वको गठबन्धनसंग एमालेको २३, जसपा १५, जनमत १३, माओवादी ८ गरि कुल ६८ सांसद पुगेको छ ।





