एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सचिव जितेन्द्र यादवले फेसबुकमा लेखेका छन, ‘मेरो अनन्य प्यारो मित्र सरस्वती मा. वि.का छात्र संजय साह (टकला) मधेस प्रदेशको लागि संघर्षरत बाट चिनिने लाई जेल मुक्त गर्न हामी संघर्ष गर्छौ, हामी लाई सन्जय साह चाहिन्छ ।’

फेसबुकमा आइतवार यो स्टाटस लेखेका उनले त्यसको एक घण्टा पछि पुन: अर्को स्टाटस लेखे जस्मा लेखिएको थियो, ‘ म जिते है ! बिचार र ब्यबहारले १५ साल देखि निरन्तर अर्जेन्टिनाको पक्षमा लागेर आज जिते ! संजय साह (टकला) को लागि संघर्ष गरेर मात्र हामी जित्नेछु । मधेस प्रदेशको लागि राजनीति मुद्दामा आफ्नो ज्यान लाई समेत प्रबाह नगरी संघर्ष गर्ने मेरो प्यारोअन्नय मित्र संजय साह (टक्ला) लाई छुटाउन अथक प्रयास गर्नेछु ।’

कतारमा अर्जेन्टिनाले फुटलबल बिश्वकप जितिरहँदा जसपा मधेश सचिव यादवले राती यो स्टाटस लेखेका हुन । उनी मात्र होइन उनका सहयोगी र जनकपुरधाममा संजयको निकट भनेर चिनिने जसपाका युवा नेता नविन यादवले पनि फेसबुकमा सोहि दिन धमाधम स्टाटसहरु लेखे ।
उनको एक स्टाटस थियो, ‘मधेस प्रदेशको नामाकरनका लागि राजनीति मुद्दामा आफ्नो ज्यान लाई समेत प्रबाह नगरी संघर्ष गर्ने भ्रस्टाचार विरुद्ध निरन्तर संघर्स गर्ने संजय साह ज्यु लाई छुटाउ यहि अध्याआदेश मार्फत अथक प्रयास हामी सबैले गर्नै पर्छ।रेसम चौधरी र सँजय साहलाई छुट्टाउन थारुहरु र सबै मधेसी एक हुन जरूरी छ । जय मधेस’

विभिन्न आरोपमा करिव एक दशक भन्दा बढि देखि केन्द्रिय कारागारमा रहेका संजयको रिहाईको मांग एकाएक कहाँबाट ब्युताइयो ? एसपी खवरको प्रश्नमा युवा नेता यादवले सरकारले अध्यादेश मार्फत रेशम चौधरी र विप्लवका नेताहरुलाई छोडे संजय साहलाई समेत छोडनु पर्ने मांग सहित आफुहरु अभियान र दबाबमुलक अभियान थाल्ने बताउछन् । तपाई त पहिला देखिनै उनको निकट हो तर जसपा नेता जितेन्द्र यादवको पनि तपाई जस्तै स्टाटस छ नि ? भन्ने प्रश्नमा उनले आफुहरु मिलेर अभियान चलाउन लागेको बताए ।
तपाईको पार्टी जसपाको पनि समर्थन हुन्छ भन्ने प्रश्नमा उनले पार्टीसंग कुराकानी भइरहेको र यो मुद्दा उठानका लागि आफुहरु पार्टीसंग पहलको लागि प्रयासरत रहेको बताए । यद्यपि उनले मधेश क्रान्ति संर्घष समितिको ब्यानरमा दबाब मुलक आन्दोलन हुने र यस्मा जसपा मधेश सचिव यादव सहित धेरै युवाहरुको साथ रहने उनको दावी छ । यस बारे बुझन जसपा मधेश सचिव यादवलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
युवा नेता यादवले मधेश मुद्दा कमजोर गर्न उठाइएका तत्कालिन मिथिला राज्य सहितका आन्दोलनहरुको विरोधमा संजय साह रहेकाले उनलाई बम काण्ड र सञ्चार उद्यमी अरुण सिंहानिया हत्या सहितका काण्डमा नियोजित रुपमा फँसाइएकाले यि मुद्दाहरु समेत राजनितिक रहेकाले जनताबाट निर्वाचित, अनुमोदित र लोकप्रिय नेता संजयले आममाफी पाउनुपर्नेै उनको तर्क छ । आज प्रदेशको नाम मधेश आधिकारिक रुपमा तोकियो यो उनै संजय साहको सपना रहेको उनले थपे ।





