एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ९ : प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् । एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनाव अघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।
अन्नत: यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाउन सके । यादव १५७ मतान्तरले विजयी भए । यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६०५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।
त्यसै गरि नेकपा एमालेकी पोलिटब्युरो सदस्य नेतृ जुली महतो धनुषा ३ मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छिन् । उनको पहिलो प्रत्यक्ष जित हो । दुई पटक समानुपातिक सांसद हुदै मन्त्री समेत बनेकी जुली ३३ हजार ३ सय ५५ मत ल्याएर विजयी भईन भने उनका प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट लोसपाका अनिल कुमार झा २३ हजार ६८६ मत ल्याएका छन् ।
महतोले झा लाई ९ हजार ६६९ मतान्तरले पराजित गरेका छन् । यस संगै धनुषाको चार मध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।





