एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : नेकपा एमाले सल्लाहकार परिषद सदस्य गंगाराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि यादवले पार्टी निती, सिद्वान्त र मधेशमा प्रभाव पर्दा समेत अझै पनि मधेशको भावना विरुद्व हिडेकाले साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको बताएका छन् ।
चुनावको मुखमा मधेशको मुख्य मांग नागरिकताको विषयमा पार्टी विवादित हुनु, मास्र्कवाद, लेलिनवाद सहितको निति सिद्वान्त कागजमा मात्र सिमित हुनु देखेर आफु पार्टी परित्याग गरेको उनले घोषणा गरेका छन् । उनी जसपा नेपालमा प्रवेश गरि एमाले प्रवेश गरेका उमाशंकर अरगरिया विरुद्व धनुषाको २ मा जसपाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार बन्न लागेका हुन । यद्यपि उनले आफु जसपामा जाने विषयमा अहिले केहि बोलेनन ।
१२ गते बुधवार क्षेत्रको यदुकोहा बजारमा जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई औपचारिक पार्टी प्रवेश गराउने तयारी छ । यस अघि एमालेको क्षेत्रिय भेलाले धनुषा २ बाट प्रतिनिधीसभाको उम्मेदवारका लागि यादवको सर्वसम्मत नाम सिफारिस गरेको थियो तर पार्टीले अरगरियालाई प्रवेश गराएपछि यादवले आफु टिकट नपाउने भन्दै पार्टी परित्याग गरेको हो ।
एमाले परित्यागको घोषणा गर्ने क्रममा यादवको आँखा रसाएको थियो । समाजसेवाका साथै यादव एमालेका पुरान जुझारु नेताका रुपमा परिचित छन् । यादव अध्यक्ष केपि शर्मा ओली र वर्तमान राष्ट्रपति विद्या देवी भण्डारीका प्रिय पात्र मानिन्छ ।
