एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल रेल्वे निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी गुडेको छ । जनकपुरधामबाट जनयनगरका लागि बिहान ११ बजे गुड्ने रेल पूर्व प्रम ओलीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्यान्ह १२ बजे मात्रै गुडेको थियो ।
ओली धनुषाको तिनकौरियामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि रेलबाटै महिनाथपुर स्टेशन सम्म पुगेका छन् । रेल चढेका ओलीले आफनो सरकारले सफलता पुर्वक बनाएको रेलमार्ग र किनेको रेल चढदा खुसी लागेको बताए । उनले हुलाकी सडक देखाउदै एका तर्फ रेल मार्ग अर्को तर्फ हुलाकी मार्ग एमालेको चाहना अनुसार बनेको बताउदै फर्किने बेला हुलाकी मार्ग प्रयोग गर्ने बताए । एमाले प्रवेश गर्न लागेका पुर्वमन्त्री उमाशंकर अरगरियाले रेलभित्र अध्यक्ष ओली, सचिव रघुविर महासेठ, नेता प्रभु साह र जुली महतोलाई खादा लगाएर सम्मान गरेका थिए ।

ओली रेलबाटै जाने भनेपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरधामबाट रेल गुडाउनु परेको नेपाल रेल्वेका महापबन्धक निरञ्जन झाले बताए । महाप्रबन्धक झाले भने, ‘पूर्व प्रधानमन्त्री ओली जी रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केही बेर पर्खिनु परेको थियो ।’ उनले रेल शुरु भएको मितिबाट अहिलेसम्म ढिलो गरी नगुडेको स्मरण गर्दै आज पनि ढिलो नगुड्ने भन्दा पनि एमालेका नेता कार्यकर्ताहरुको आग्रहमा रेल ढिलो गुडाइएको बताए ।

रेल जनकपुरधामबाट ढिलो गुडाइएकोले जयनगर बाट जनकपुरधामका लागि पनि रेल ढिलो गरी नै गुडाइने महाप्रबन्धक झाको भनाई छ । पूर्व प्रम ओली तथा एमालेको नेता तथा कार्यकर्ताको रेल यात्राका लागि कुल १ सय ४२ वटा टिकट कटाएको समेत बताए । एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकट काटिएको महाप्रबन्धक झाले बताए ।





