एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० : मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका समेत पर्ने धनुषा क्षेत्र नं. ३ मा राजनितिक सरगर्मी बढेपनि उम्मेदवारको अन्यौलता कायमै छ । लोसपा र जसपाको गठबन्धन को संग हुन्छ भन्ने कुरामा यस क्षेत्रका उम्मेदवारी अटकेको छ । हालको पाँच दलिय गठबन्धनमा लोसपा नगए प्रतिनिधीसभामा कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधी तय छ । लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा गए हालको विजयी सांसद राजेन्द्र महतोको कडा दावेदारी पनि यही हुने छ ।
निधी प्रतिनिधीसभाका उम्मेदवार भए जसपाले प्रदेश तर्फको क्षेत्र नं. ‘ख’ मा अवसर पाउने छ । यस क्षेत्रका लागि जसपाबाट नगरसभापती विष्णुदेव साह, जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साह र जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा प्रदेश सांसद रामअशिष यादव निकट अम्भु प्रासद साह आकांक्षी देखिएका छन् । यद्यपि निवर्तमान मेयर साहले भने औपचारिक रुपमा अहिले सम्म इच्छा जाहेर भने नगरेको नेताहरु बताउछन् ।
यस अघि २०७४ को स्थानिय तहको निर्वाचनमा जसपाका मेयर उम्मेदवार जसपा नगरसभापती साह अध्याधिक इच्छा जाहेर गरेपनि यहाँको टिकटमा जसपाबाट प्रतिनिधीसभामै उम्मेदवारी दावी गर्ने जितेन्द्र यादवको प्रभाव रहने बताइन्छ । क्षेत्रमा लालकिशोर साह र उनको निकटताले यस क्षेत्रको टिकटमा प्रभाव पार्ने जसपाका एक नेताले बताए । यद्यपि नगरसभापती साह गत स्थानिय तहको निर्वाचनमा मेयरमा त्याग गरेकाले उनको दावी स्वभाविक रहेको उनले थपे ।
जउबा संघका उपाध्यक्ष अम्भु प्रसाद साहको लागि पनि एक समुह लविङ्ग गरिरहेको छ । विपक्षी समुहको उम्मेदवार तय भएपछि जनकपुरधाममा चुनाव जित्न पार्टीले हरेक परिवेशको मुल्याङ्कन गर्ने हो भने अम्भु पनि उम्मेदवार हुन सक्ने सो समुहको दावी छ । साहले पार्टीले अवसर दिए आफु तयार हुने बताए ।
तर जसपा पाँच दलिय गठबन्धनबाट बाहिर भए स्थिती फरक हुनेछ । यदि जसपा एमालेसंग गठबन्धन गरे क्षेत्र ‘ख’ मा एमालेको दावी हुनेछ भने जसपा र लोसपा बिच गठबन्धन भएको खण्डामा पनि सोहि परिस्थिती उत्पन्न हुनेछ । कांग्रेसले लोसपा संग गठबन्धन गरे जसपा र एमालेको मिलन असम्भव नरहेको नेताहरु बताइरहेका छन् ।





