एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ :
जनमत पार्टीले मधेश प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेको छ । किसान आन्दोलन पुन: सुरु गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बुधबार जनकपुरधामस्थित भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मुख्य गेटमा तालाबन्दी गरिदिएका हुन् ।

https://www.facebook.com/watch/?v=530306695452182

मधेशका कृषकहरू मलखादको अभावलगायत विभिन्न समस्याबाट पीडित बनेको भए पनि मधेश सरकारले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ । जनकपुरधामको गंगासागरबाट निस्किएको विरोध जुलुसले नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै मन्त्रालयमा पुगेर तालाबन्दी गरेको छ । त्यसक्रममा उनीहरूले कृषिमन्त्री विजयकुमार यादवको राजीनामा समेत माग गरेका थिए ।

यसअघि, प्रदर्शन गर्दै धनुषा जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारलाई जनमत पार्टीको धनुषाका इन्चार्ज बीपी साहले ज्ञापनपत्र बुझाउनुभएको थियो । उहाँले नेपाल सरकारले मलखाद उपलब्ध गराउन नसकेको अवस्थामा भारतबाट मलखाद ल्याउँदा किसानलाई दु:ख नदिन सीडीयो तथा सुरक्षा निकायका प्रमुखहरूसँग समक्ष आग्रह गरेका थिए । विरोध जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा जनमत पार्टी धनुषाका कार्यवाहक इन्चार्ज बीपी साहले मलखादको अभाव, सिँचाइको अभावलगायत समस्याका कारण किसानहरू समस्यामा परेको बताउनुभयो । उहाँले किसानका लागि आएको बजेटमा लुट मचाउने काम सरकारले गरेको पनि आरोप लगाउनुभयो । त्यस्तै, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजयकुमारले आफूहरूले महिनौँदेखि किसान आन्दोलन गर्दै आए पनि सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।

जनमत पार्टीले किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सन दिनुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, बालिनालीको स्वत: बिमा गर्नुपर्ने, किसानलाई नि:शुल्क विजुली दिनुपर्ने र बाली नष्ट हुँदा राहत दिनुपर्ने माग गरेको छ । त्यस्तै, कृषि बजारको व्यवस्था गर्नुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, कृषि ऋण मिनहा गर्नुपर्ने, किसानको रकम भुक्तानी गर्नुपर्ने, किसानमाथिको दमन बन्द गर्नुपर्ने र किसान आन्दोनलकारीसँग वाता गर्नुपर्ने माग गरिएको छ ।