एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
मधेश प्रदेशको शनिवार बसेको प्रदेशसभा बैठक प्रतिपक्षीदलहरुले बहिष्कार गरेको छ । मित्र तथा नेपालको सहयोगी राष्ट्र जापानका पुर्व प्रधानमन्त्रीको हत्याको शोकमा नेपाल सरकारले शनिवार एक दिन शोक मनाउने र औपचारिक कुनै पनि कार्यक्रम नगर्ने घोषणाका बाबजुद प्रदेशसभाको औपचारिक बैठक उचित नभएको लोसपा र एमालेका सांसदहरुको आरोप थियो ।

मधेश सरकार नेपाल सरकारकै एक अंग रहेकाले नेपाल सरकारको निर्णय र परिपत्र विरुद्व मधेश सरकार र प्रदेशसभा चल्न नहुने एमाले र लोसपाको तर्क थियो । लोसपा सांसद उपेन्द्र महतोले समेत प्रदेशसभा औपचारिक बसेको हो भने शोकको समयमा बैठकमा बस्न नसकिने भन्दै बहिष्कार गरेका थिए ।

साथै प्रदेशसभा बैठक प्रारम्भमै लोसपा र एमालेका सांसदहरुले बोल्दै विभिन्न घटना छानविनका लागि उपसभामुखको संयोजकत्वमा गठित विशेष छानविन समितकै एक सदस्य विदेश्वर यादव समितिको मर्यादा विपरित बिना छलफल गरि रोष्टममा गएर छानविन प्रभावित हुने गरि मन्तब्य दिएकाले सांसद यादवलाई समितिबाट हटाउनुपर्ने मांग गरेका थिए । लोसपा सांसद साहले विपक्षीदलसंगको छलफल र सहमती बिनानै प्रदेशसभा बैठक अगाडि बढाइएको भन्दै विरोध समेत जनाएको छ ।