एसपी रिपोर्टर
काठमाण्डौं, असार २० : जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ ।
नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले बतायो । ‘नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुने बताइएको छ ।
मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरुसँग छलफल गरेका थिए । पार्टी केन्द्रीय सदस्य र सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरुको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर बुझाएको एक नेताले बताए ।
कित्ता परिवर्तण गर्दा मन्त्री
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेरको निर्णय लिएका छन् । पार्टीमा डा. बाबुराम भट्टराई पक्षसँग अन्तरविरोध उत्कर्षमा पुगेका बेला यादवलले चारमध्ये तीन मन्त्रीलाई फिर्ता बोलाएका छन् र नयाँ सूची पठाएका छन् ।
स्रोतका अनुसार यादवले कृषिमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएका छन् । महिन्द्र राय, पछिल्लो समय संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षमा खुलेका थिए । त्यसैले उनलाई हटाउने पहिल्यै तयारी भएको थियो ।
रेणु यादव र रामसहाय भने अध्यक्ष यादव पक्षकै हुन् । तर असन्तुष्ट सांसदहरुलाई सरकारमा पठाउन उनीहरुलाई फिर्ता बोलाइएको छ । उनीहरुको ठाउँमा इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाइएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधारमा इस्तियाक र वनमन्त्रीमा प्रदीपको नाम पठाइएको छ ।
जसपा स्रोतका अनुसार दुबै सांसदले हालसालै मात्र कित्ता परिवर्तन गरेका थिए । पछिल्लो समय जसपाको विवादमा दुबैले डा. भट्टराईलाई साथ दिएका थिए । भट्टराई निकट स्रोतका अनुसार उपेन्द्र यादव सच्चिएनन् भने नयाँ पार्टी बनाउनुपर्ने मत राख्नेहरुमा दुबै सांसद पर्थे ।
तर अध्यक्ष यादवले मन्त्री हेरफेर गर्ने तयारी गरेसँगै दुवैले कित्ता परिवर्तन गरेका थिए । दुबै भट्टराई पक्षको छलफलमा अनुपस्थित हुन थाले । यादव पक्षको कार्यकारिणी समिति सदस्यहरुको बैठकमा जान थालेका थिए ।
अहिले ती दुबै सांसद, मन्त्रीमा सिफारिस भएका छन् । स्रोतका अनुसार राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह कृषिमन्त्री बन्ने भएका छन् । पार्टी नेतृत्वसँग असन्तुष्ट उनलाई पनि अर्को पक्षमा जान नदिन मन्त्री बनाइएको एक नेताले बताए ।
तीन मन्त्रीलाई फिर्ता बोलाएका जसपा अध्यक्ष यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएका छन् । अशोक राई नेतृत्वको तत्कालीन संघीय समाजवादीबाट आएका श्रेष्ठ पछिल्लो समय पार्टीमा उपेन्द्र यादवको पक्षमा उभिएका नेता हुन् ।





