एसपी रिपोर्टर
जनकपुरधाम, असार ९
: भारतीय पर्यटक बोकेर आज जनकपुरधाम आउन लागेको ‘भारत गौरव पर्यटक रेल’ लाई मधेश सरकारले स्वागत गर्ने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको यो रेल आज जनकपुरधाम आउदैछ । पर्यटकहरु जनकपुरधामको श्री जानकी मन्दिर सहित यहाँका धार्मिक सम्पदाहरुको भ्रमण गर्नेछन् ।

पर्यटकहरुलाई केन्द्रित गरेर श्री जानकी मन्दिरले पनि विशेष व्यवस्थापन गरेको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बुधबार पत्रकार सम्मेलन गरी भारत सरकारको रामायण सर्किट परियोजनाको तहत ‘भारत गौरव पर्यटक रेल’ नेपाल आउने जानकारी दिदै जनकपुरधामको विकासमा थप एक कदम हुने बताए ।

उनले रेलमा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरूले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने पनि जानकारी गराए । रेल आज दिउँसो १ बजेर ३० मिनेटमा जनकपुरधाम आइपुग्ने र मधेश सरकारका मुख्यमन्त्रीको अगुवाईमा स्वागतको तयारी भएको छ । ।

सहायक महन्तले धार्मिक तथा पर्यटकीय हिसाबले सम्पूर्ण जनकपुरवासीका लागि यो गौरवको विषय भएको पनि बताए । उनले श्रद्धालु भक्तजनलाई स्वागत गर्न पनि सबैसँग आग्रह गरेका छन् । त्यस्तै, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भारतबाट आउने धार्मिक पर्यटकहरूले जनकपुरधाम आएपछि जानकी मन्दिरका साथै आसपासका अन्य पर्यटकीय क्षेत्रको भ्रमण गर्ने जानकारी दिए ।

भारतीय राजदूतावासका अनुसार यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ ।