एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
जनकपुरधाममा नव निर्वाचित जनप्रतिनिधीहरुको पदभार ग्रहण समेत भएको छैन तर राजनितिक बिबाद भने सुरु भइसकेको छ । कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवार भन्दै मत लिएर जनकपुरधामको मेयरमा जितेका कांग्रेसका बागी मनोज कुमार साह सुडीले पार्टीगत काम गर्न थालेपछि विवाद सुरु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधीहरु पदभार ग्रहण नगर्दै विवाद सुरु भएको छ । कांग्रेस परित्याग गरि स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा चुनाव जितेका मनोज कुमार साह सपथ ग्रहण समारोहमा कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीलाई प्रमुख अतिथि बनाएपछि एमालेले सपथ ग्रहण बहिष्कार मात्र गरेन सपथ ग्रहण नै दुई गर्नु पर्ने अवस्था आयो । एमालेबाट निर्वाचित ७ वडा अध्यक्ष र सदस्य गरि करिव चार दर्जन जनप्रतिनिधीहरु निधि सहभागी कार्यक्रममा सपथ ग्रहण गर्न नमानेपछि विहिवार शुक्रवार पुनः सपथ ग्रहण गराइएको छ ।

विहिवार निधीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर साहले उपप्रमुख किशोरी साह सहित १८ वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । गठबन्धनलाई लत्याएर कांग्रेस नेता निधीले मेयरमा साहलाई आन्तिरक रुपमा सघाएर जिताएकाले मेयरमा उम्मेदवारी दिएका जसपा पनि आक्रोसित बनेको छ ।

सो कार्यक्रममा नेता निधीले विकासका लागि राजनिति गर्न नहुने बताउदै मेयर साहलाई कांग्रेसमा फर्किन आग्रह गरेका थिए । एता एमालेले भने स्वतन्त्रमा जितेका मेयर साह पदभार ग्रहण गर्न नपाउदै कांग्रेसको जुलुसमा जानु र कुनै पदमा नरहेको नेता निधीलाई सपथ ग्रहणको प्रमुख अतिथि बनाउनु गलत रहेको आरोप लगाइरहेको छ ।

जनप्रतिनिधी कुनै पनि पार्टीको नभई जनताको हुने भएपनि मेयर साहले सुरु देखिनै पार्टीगत काममा उत्रेको एमाले पक्षको आरोप छ । एता मेयर साहले भने आफु कांग्रेसका २५ वडाका वडा अध्यक्ष उम्मेदवारहरुकै बलमा चुनाव लडेको र जितेको बताउदै धन्यवाद स्वरुप कांग्रेसको जुलुसमा गएको र कांग्रेसलाई छोडन नसक्ने बताए ।

मेयर साह आफु माथी अन्याय भएको भन्दै कांग्रेसको साधारण सदस्यता समेत परित्याग गरि स्वतन्त्र रुपमा चुनाव जितेका साह जित्ने वितिकै पार्टीको पिछलग्गु भएपछि उनको एतिवेला चौतर्फी आलोचना भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार भएको सपथ ग्रहण समारोहमा नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरूले सपथ लिएका हुन् । उनीहरूले मेयर मनोजकुमार साहले सपथ खुवाएका हुन् । सपथ लिनेमा वडा अध्यक्षहरू र सदस्यहरू छन् ।

जनकपुरधामका वडामा विजयी भएका सात जना वडा अध्यक्षहरू तथा विभिन्न वडाका सदस्यहरूले सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपमेयर किशोरी साह, नेकपा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलगायत सहभागी भएका थिए । जनकपुरधाममा पटक पटक गरि तेस्रो पटक कांग्रेसका बागीले चुनाव जिते पनि जनकपुरधामको समग्र विकास र शुव्यवस्था हुन नसकिरहेको बेलामा मेयर साहको नेतृत्व कति सफल हुन्छ भन्ने कुरा समयले नै देखाउने छ ।