एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ : आफुलाई स्वतन्त्र उम्मेदवार भन्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज कुमार साह सुडी एक विशेष पार्टीगत काम गर्न थालेपछि ३६ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण बहिष्कार गरेका छन् । मेयर साहले हाल कुनै पनि पदमा बहाल नभएता पनि कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीलाई प्रमुख अतिथि बनाएर उपप्रमुख सहितका जनप्रतिनिधीहरुको सपथ ग्रहण कार्यक्रम राखेपछि उनीहरु बहिष्कारमा उत्रेको हो ।
नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित सातजना वडा अध्यक्षहरु सहित कुल ३६ जना वडाका जनप्रतिनिधीहरु निधी सहभागी कार्यक्रममा सपथ ग्रहण नगर्ने भन्दै बहिष्कार गरेका हुन । एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले एक स्वरमा भने, ‘आफुलाई स्वतन्त्र भनेर चुनाव जित्ने अनि जित्ने वितिकै एक पार्टी र केहि नेताको इशारामा चल्ने नयाँ मेयरको कार्यशैली आपतीजनक छ ।’

उनीहरुले आफुहरु उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएको र समय मिलाएर पछि सपथ ग्रहण गर्ने बताएका छन् । जनकपुरधाम वडा नं. ८ बाट निर्वाचित वडा अध्यक्ष दिनेश सिंहले कुनै पनि पदमा नरहेको नेतालाई बिना सल्लाह प्रमुख अतिथि बनाएर जनकपुरधामका नयाँ मेयरले जनकपुरधाममा पुन: समुहगत राजनितिको वातावरण बनाउन उद्दत भएको आरोप लगाएका छन् । ३६ जना उपस्थित भएर र वाँकी एक दर्जनले मौखिक रुपमा बहिष्कारमा समर्थन जनाएको एमाले जनकपुरधामका सचिव राजु साहले बताए ।
मुख्यमन्त्री, प्रदेश प्रमुख, यहाँको सांसद चाहे कुनै संघिय मन्त्रीलाई बोलाएर सपथ ग्रहण गर्नुपर्नेमा सुरुमै पेलेर जान खोजेपछि आफुहरु बहिष्कार गरेको उनीहरुको तर्क छ । नयाँ मेयर निर्वाचित भएकै भोलीपल्ट कांग्रेसले आयोजना गरेको विजय जुलूसमा सहभागी भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।







