एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ :
स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर निर्वाचित भएका मनोज साह नेपाली कांग्रेसले आयोजना गरेको विजय जुलूसमा सहभागी भएका छन् । बुधबार कांग्रेसले आयोजना गरेको विजय जुलूसमा मेयर साह पनि सहभागी भएका हुन् । स्थानीय गोपाल धर्मशालाबाट शुरू भएको विजय जुलूसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टी (जसपा) को उम्मेदवार उठेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेसले जनकपुरधाम उपमहानगरका मतदातालाई धन्यवाद ज्ञापन गर्न बुधबार विजय जुलूस निकालेको हो । जुलूसमा कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियार सहभागी थिए ।

आफू कांग्रेसमा प्रवेश नगरेको र मेयरको हैसियतले जुलूसमा सहभागी भएको साहको भनाइ छ । आफूलाई अब कुनै पनि राजनीतिक दलले कार्यक्रममा बोलाउँदा सहभागी हुनुपर्ने बाध्यता रहेको बताउँदै त्यही अनुरूप आजको जुलूसमा पनि सहभागी भएको उनले बताए ।

विजय जुलूसपछि आयोजित सभालाई सम्बोधन गर्दै साहले भने, “म स्वतन्त्र उम्मेदवार भए पनि कांग्रेसको चारतारे झण्डा र जय नेपालको नारा लगाउँदै आएकाले जितेको हुँ । कांग्रेसका साथीहरूले पनि मलाई सहयोग गरे ।”

उनी कांग्रेसको विजय जुलूसमा सहभागी भएपछि जसपा नेताहरूले आलोचना गरेका छन्। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई हराउन भूमिका खेलको जसपा नेता विष्णुदेव साहको आरोप छ । “जनकपुरका २५ वटै वडाको मतपत्रमा कांग्रेसीहरूले एउटा घण्टाघरमा र बाँकी रूख चिह्नमा मतदान गरेका छन्,” जसपा नेता साहले भने, “कांग्रेसले ठूलो विश्वासघात गरेको छ ।”

आजको जुलूसमा मेयरको सहभागिताले पनि त्यसको पुष्टि गरेको उनको भनाइ छ। जसपाले गठबन्धन अनुसार कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेका किशोरी साहलाई मतदान गरेकाले उपप्रमुखको सर्वाधिक मत आएको उनले बताए ।

हिमालखवरको सहयोगमा