पुरन रौनियार
जनकपुरधाम, जेठ ९ :
निकटतम प्रतिद्वन्द्वी भन्दा ३ हजार ९ सय ३३ मतान्तरले जनकपुरधामको मेयरमा जितेका कांग्रेस र गठबन्धनका बिद्रोही उम्मेदवार मनोज कुमार साह सुडी आफनो राजनितिक यात्राको ३४ वर्षमा कार्यकारी पद मेयरमा निर्वाचित हुन सफल भएका छन् । धनुषाको सदरमुकाम र मधेश प्रदेशकै राजधानी समेत रहेको जनकपुरधामको मेयर बनिरहँदा उनको ३४ वर्षे राजनितिक यात्रा त्यती घुमाउरो छैन ।

वि.सं. २०२८ साल माघ १५ गते धनुषाको कुवाँरामपुर पञ्चायतमा पिता मोहन प्रसाद साह र माता रामकुमारी देवीको प्रथम सुपुत्रका रुपमा जन्मेका मनोज राजनितिक पारिवारिक पृष्ठभुमिमै हुर्केका छन् । २०३३ सालमा कुवाँरामपुरको गाँउ पञ्चायतका प्रधानपञ्च समेत रहिसकेका पिता मोहन प्रसाद साहका चार छोरी र दुई छोरा गरि छ सन्तान मध्ये दोस्रो जेठो सन्तान मनोज राजनितिमा युवा अवस्था देखिनै सक्रिय रहदै २०४४ सालमा एसएलसी परिक्षा उर्तिण गर्ने वितिकै सिधै नेपाली कांग्रेसमा प्रवेश गरे ।

मनोजका अनुसार १७ वर्षका ठिट्टा उनी २०४५ सालमा सिधै नेपाली कांग्रेसको सदस्यता लिएर २०४६ सालको एतिहाँसिक जनआन्दोलनको वडा स्तरीय कमान्डर बने । हालको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १५ रामपुर टोलको अगुवाई गर्दै मनोज जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका थिए ।

आन्दोलनको फलस्वरुप प्राप्त बहुदलिय व्यवस्थाको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसका दिगज्ज नेता महेन्द्र नारायण निधीको पोलिङ्ग एजेन्ट बनेर काम गरेका मनोज २०४९ सालमा भएको स्थानिय तह मेयरको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्वर रायको समेत पोलिङ्ग एजेन्ट भएर काम गरेको एसपी खवरलाई सुनाए । त्यस निर्वाचनमा रायलाई पराजित गर्दै कांग्रेसका बागी उम्मेदवार बृखेशचन्द्र लाल मेयरमा र निवर्तमान मेयर लालकिशोर साह तत्कालिन उपमेयरमा निर्वाचित भएको अनुभव समेत प्रत्यक्ष नियालेका नेता हुन मनोज ।

एसएलसी पश्चात काठमाण्डौंको सिद्वार्थ बनस्थली कलेजमा उच्चा शिक्षा आर्जन गएका मनोज आन्दोलनहरुका कारण त्यहाँ बस्न अप्ठेरो भएपछि पुनः जनकपुरधाम फर्केर राराब क्याम्पसबाट आईए उतिर्ण सम्मको शिक्षा आर्जन गरेका छन् ।

२०५७ सालमा भारतको मधुवनी जिल्ला लदनिया थानाको खुटौना निवासी मुन्नी कुमारी साहसंग वैवाहिक बन्धनमा बाँधिएका साहको दुई छोरी र एक छोरा गरि तिनजना सन्तानहरु छन् । भारतको विहारमा विवाह भएको उनकी कान्छी बहिनी बिना पुर्वे सितामढी सोनवर्षा प्रखण्डको मुखिया पदमा केहि महिना अधि भएको निर्वाचनमा निर्वाचित भएकी हुन त्यस अघि उनी सोहि स्थानिय सरकारकी सदस्य थिइन ।

आफनो गृह वडा स्थित मा.वि. कुवाँरामपुरको १२ वर्ष सम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर काम गरेका मनोज आफनो सो कार्यकालमा कक्षा ८ सम्म अध्यापन हुने सो विद्यालयलाई कक्षा १० सम्म पढाई हुने विद्यालयको रुपमा स्थापित गर्न सफल भए । गृह वडामा कांग्रेसको वडा सभापती सहित दुई पटक लगातार पार्टीको नगरसभापती हुदै यस अघिको २०७४ सालको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानिय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसको मेयरका उम्मेदवार बन्दै निकटतम प्रतिद्वन्द्वीका रुपमा उनी पराजित भए । पराजित हुने वितिकै २०७९ सालको निर्वाचनलाई प्राथमिकतामा राखेर पाँच वर्ष सम्म राजनितिक सक्रियता र चुनाव लक्षित तयारी गरेका उनले अन्ततः बाजी मारेका छन् ।

चुनावको पुर्व सन्ध्यामा गठबन्धन गरि पार्टीले मेयर जसपालाई छाडेर मेयरमा उम्मेदवारी नदिने निर्णय गरेपछि नेपाली कांग्रेसबाट बिद्रोह गरी बागी उम्मेदवार बनेका मनोज जनकपुरधामको प्रमुखमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेस परित्यागको समेत घोषणा गरि चुनावमा होमिएका थिए । यद्यपि उनको जितमा नेपाली कांग्रेसको सम्पुर्ण पार्टी पंक्तीको साथ र समर्थन रहेको छ ।

प्रमुखमा साहले १३ हजार ४ सय ६५ मत प्राप्त गरेका छन भने उपप्रमुखमा कांग्रेसको आधिकारिक उम्मेदवार किशोरी साहले १५ हजार ५ सय २५ मत पाएका छन् । उनीहरु दुवैजनाका निकटतम प्रतिद्वन्द्वी प्रमुखमा एमालेका शिव शंकर साह हिराले ९ हजार ५ सय ३२ मत प्राप्त गरेको छ भने उपप्रमुखमा समेत एमालेकी रुणा देवी झाले १० हजार ८ सय ८५ मत ल्याएकी छन् ।