एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ :
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी स्थानीय तहको चुनावपछि अरु दलहरू संकटमा पर्ने दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले जनता परिवर्तन खाजेको भन्दै स्थानीय तहको निर्वाचनपछि अन्य दलहरूको अस्तित्व संकटमा पर्ने दाबी गर्नुभएको हो । उहाँले जनलहर आफूहरूको पक्षमा रहेको पनि दाबी गर्नुभयो ।

महासचिव पोखरेलले कोही स्थानीय तहको चुनावमा मिल्न चाहे सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । यद्यपि, आफ्नो नीति छाडेर अन्य दलहरूसँग ‘कम्परमाइज’ गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले परमादेशबाट बनेको सरकारलाई जनादेशबाट प्रतिस्थापन गर्न जनता चाहिरहेको पनि बताउनुभयो । उहाँले जनताको जनादेशलाई आधार बनाएर मुलुकको नेतृत्वमा जाने पनि बताउनुभयो ।

महासचिव पोखरेलले अहिलेको सरकारले जनहितमा कुनै काम गर्न नसकेको पनि आरोप लगाउनुभयो । देउवा सरकारले अर्थतन्त्रलाई ध्वस्त बनाउने उहाँको आरोप छ । महासचिव पोखरेलले एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारका समयमा मधेश हितमा थुप्रै काम भएको पनि दाबी गर्नुभयो । हुलाकी सडक निर्माणमा तीव्रता, ढुवान समस्याको समाधान प्रयास, २२ जिल्लाका सदरमुकामलाई आधुनिकीकरण गर्ने प्रक्रियालगायत थुप्रै काम गरेको उहाँको भनाइ छ ।

महासचिव पोखरेले एमाले मधेश विरोध नभएको भन्दै मधेशको सवालमा आवाज उठाउने पार्टी भएको दाबीसमेत गर्नुभएको थियो । उहाँलाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।