एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० : मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले खेल क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार मधेश प्रदेश स्पोर्टस् फर अल कमिशन नेपाल ओलम्पिक कमिटीले गरेको ओलम्पिक डे २०२२ को अग्रिम योजना विस्तुत अभिमुखीकरण कार्यक्रममा मन्त्री महतोले यस्तो बताउनुभएको हो ।
उहाँले मधेश खेलकुद क्षेत्रमा उत्कृष्ट रहँदै आएको भए पनि पछिल्लो समय प्रदेश र संघबीच समन्वय हुन नसक्दा खेलकुद गतिविधिमा सुस्तता आएको बताउनुभयो । जनकपुरधाममा श्रीरामजानकी रंगशाला बनाउने कुरा वर्षौदेखि हुँदै आए पनि ढिलाइ भएको प्रसंग निकाल्दै मन्त्री महतोले खेलाडीका लागि आवश्यक संरचनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा पूर्वकेन्द्रीय राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले विगतमा वीरेन्द्र शिल्ड जस्ता प्रतियोगिताहरू हुँदै आएको भए पनि अहिले कमी भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै, नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेशका सबै विद्यालयमा कम्तिमा एक जना खेलकुद शिक्षक नियुक्त गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, स्पोर्टस् फर अल कमिशनका केन्द्रीय अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक कमिटीले हालसम्म गरेका कार्य तथा अबका योजनाहरूका बारेमा चर्चा गर्नुभयो । उहाँले उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकका मूल्य र मान्यता रहेको पनि बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेश स्पोर्टस् फर अल कमिशन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्वमेयर बजरंगप्रसाद साहले नेपाल ओलम्पिक कमिटीले खेल क्षेत्र पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा सहभागीहरूले खेल क्षेत्रको विकासका लागि मधेश सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए । उनीहरूले खेलकुदका लागि आवश्यक पूर्वाधार हुन नसकेकोप्रति पनि चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा पूर्वखेलाडी जितेन्द्र महासेठ, प्रशिक्षक वीरेन्द्र कर्ण, वरिष्ठ पत्रकार विष्णु कुँवर लगायतले धारणा राखेका थिए ।





