एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ :
तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाको केन्द्रिय अध्यक्षका रुपमा बृशेषचन्द्र लालको नाम घोषणा गरिएको छ । जनकपुरधाममा आयोजित एक समारोहका बिच तमलोपाका अध्यक्ष लाल वरिष्ठ नेता डा. विजय कुमार सिंह सहित ५५ सदस्सीय केन्द्रिय कार्यसमितिको घोषणा गरिएको छ ।

भेलामा निवर्तमान अध्यक्ष रविशंकर लाल कर्णले लाललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई भेलाले सर्वसम्मत रूपमा पारित गरेको हो । त्यस्तै, विशेष केन्द्रीय समिति भेलाले विजयकुमार सिंहलाई वरिष्ठ नेता चयन गरेको छ । यससँगै तमलोपाको ५६ सदस्यीय केन्द्रीय कार्यसमिति पनि गठन गरिएको छ । पदाधिकारी पछि चयन गरिने जनाइएको छ ।

भेलाले पारित गरेको पाँच बुँदे प्रस्तावमा मधेशका तमाम आन्दोलन र संघर्षबाट प्राप्त समानता र सम्मान सहितको मधेशको पहिचानको निमित्त सबै एक ठाउँमा आउनुपर्ने आवश्यक भएकाले तमलोपा गठन गरिएको उल्लेख छ । त्यस्तै, मधेश आन्दोलनमा सहभागी भएकै कारणबाट चलाइएका सबै मुद्दाको खारेजी र कारागारमा रहेका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

यसैगरी, तमलोपाले संसद्मा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन आग्रह गरेको छ । संविधानको मर्म र भावना अनुसार यस न्यायोचित विषयवस्तुको शीघ्र सम्बोधन गर्न पनि भेलाले माग गरेको छ । पहिलो केन्द्रिय भेला भनिएको सो समारोहबाट विभिन्न पाँचवटा प्रस्तावहरु समेत सर्वसम्मत पारित गरेको छ ।